एजेन्सी । चीनले आफ्ना नागरिकहरूलाई अमेरिका यात्रा गर्नुअघि सावधानी अपनाउन आग्रह गरेको छ।
अमेरिकासँग बढ्दो व्यापार युद्धको बीचमा चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले एड्भाइजरी जारी गरेको हो।
मन्त्रालयले सार्वजनिक गरेको ट्राभल एडभाइजरीमा नागरिकहरूलाई सावधानीपूर्वक यात्रा गर्न र अमेरिका जानुअघि सम्भावित जोखिमको पूर्ण मूल्यांकन गर्न सुझाव दिइएको छ।
यस एडभाइजरीमा चीन–अमेरिका बीचको बिग्रँदो आर्थिक र व्यापारिक सम्बन्ध तथा संयुक्त राज्य अमेरिकाको आन्तरिक सुरक्षाको अवस्थालाई कारण देखाइएको छ।
यससँगै, चीनको शिक्षा मन्त्रालयले पनि अर्को एड्भाइजरी जारी गर्दै अमेरिकी विश्वविद्यालयमा पढ्न चाहने विद्यार्थीलाई ‘सुरक्षासम्बन्धी जोखिमको मूल्यांकन’ गर्न आग्रह गरेको छ।
भन्सार शुल्कलाई लिएर अमेरिका र चीनबीच द्वन्द्व चर्किंदै गएको छ। चीनले अमेरिकाबाट आयात हुने वस्तुहरूमा ८४ प्रतिशत ट्यारिफको घोषणा गरिसकेको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका वस्तुहरूमा १२५ प्रतिशत ट्यारिफ लगाइसकेका छन्।
यसको जवाफमा चीनका राष्ट्रपति सी जिनपिङले भनेका छन्, ‘अमेरिकाको भन्सार शुल्कको सामना गर्न चीनले आफ्ना छिमेकीहरूसँग सम्बन्ध बलियो बनाउनु आवश्यक छ।’
ट्रम्पले १२५ प्रतिशत भन्सार शुल्क लगाएपछि चीनले पनि तत्काल कठोर प्रतिक्रिया दिइसकेको छ। चीनको यो कदमपछि ट्रम्पले थप कडा प्रतिक्रिया दिँदै चिनियाँ वस्तुहरूमा आयात शुल्क १०४ प्रतिशतबाट बढाएर १२५ प्रतिशत पुर्याएका हुन्।