भारतीय सुरक्षा एजेन्सीले जारी गरेको पहलगाम आक्रमणमा संलग्न भनिएका आतंककारीहरूको तस्वीर । तस्विर : इण्डिया टुडे ।
काठमाडौं । भारतको जम्मु कश्मिरस्थित पहलगामको सुन्दरतामा रमाउन पुगेका २४ पर्यटकसहित २६ जनाको मंगलबार गोली हानी हत्या भयो ।
पहलगाम प्राकृतिक सुन्दरताको निम्ति विश्वभर चर्चित छ । यसलाई ‘मिनी स्वीटजरल्याण्ड’ समेत भन्ने गरिन्छ ।
नेपालबाट जम्मु कश्मिरको सुन्दरता नियाल्न आमा र बहिनीसहित गएका बुटवलका २७ वर्षीय सुदीप न्यौपानेले पनि ज्यान गुमाए ।
आतंकवादीहरूले पर्यटकहरूलाई घेराबन्दीमा पारिसकेपछि सोधपुछ गर्दै गोली हानेर हत्या गरेको बताइएको छ ।
घटनाको केही घण्टापछि प्रतिबन्धित आतंकवादी समूह लश्कर–ए–तैयब (एलईटी)को शाखा मानिने द रेजिस्टेन्स फ्रन्टले बर्बर हत्याको जिम्मा लिएको थियो । लगत्तै भारतीय सुरक्षाकर्मीहरूले आक्रमणकारीहरूको खोजी सुरु गरे ।
यसक्रममा सुरक्षा एजेन्सीहरूले आक्रमणमा संलग्न संदिग्ध आतंककारीहरूको तस्बिर र स्केचहरू जारी गरेका छन् । घटनामा ज्यान बचाएकाहरूले बताएको हुलियाका आधारमा सुरक्षा एजेन्सीहरूले स्केच र तस्वीर जारी गरेका हुन् ।
आक्रमणकारीमध्ये तीनजनाको पहिचान खुलेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । जसमा आसिफ फुजी, सुलेमान शाह र अबु तल्हा रहेको बताइएको छ । जुन पुष्टि हुन भने बाँकी छ ।
[caption id="attachment_342863" align="alignnone" width="884"]
सुरक्षा एजेन्सीहरूले जारी गरेको असिफ फुजी, सुलेमान शाह र अबु तल्हाको स्केच । तस्विर स्राेत : इण्डिया टुडे ।[/caption]
यी तीनैजना द रेजिस्टेन्स फ्रन्टका सदस्य भएको निष्कर्षमा सुरक्षा एजेन्सीहरू पुगेका छन् । यो नरसंहारको मास्टरमाइन्डको रूपमा खालिद नामले चिनिने सैफुल्लाह कसुरी भएको भारतीय गुप्तचर स्रोतहरूले जनाएका छन् ।
ज्यान बचाएकाहरूले दिएको जानकारीअनुसार आक्रमणमा करिब ६ जना संलग्न थिए । उपत्यका वरिपरिको घना पाइन जंगलबाट निस्किएका उनीहरूले कुर्ता–पाइजामा लगाएका थिए ।
जंगलबाट घाँसे मैदानमा आएपछि उनीहरूले घातक हतियार मानिने एके ४७ बाट गोली चलाएका थिए ।
भारतीय गुप्तचर स्रोतलाई उल्लेख गर्दै भारतीय सञ्चारमाध्यम इन्डिया टुडेले लेखेको छ–‘आक्रमणमा संलग्नहरूमध्ये केही पाकिस्तानी आतंककारीहरू पनि थिए, जो केही दिनअघि मात्रै उपत्यकामा घुसपैठ गरेका थिए ।’
नरसंहारपछि जंगलको बाटो हुँदै आतंकीहरू फरार भएका थिए । घटनाको जानकारी पाएपछि आतंकवादी विरोधी अभियान अन्तर्गत विशेष खोजतलास सुरु गरिएको भारतीय सुरक्षा अधिकारीहरूले जनाएका छन् । – एजेन्सीको सहयोगमा