Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

जम्मु कश्मिर आक्रमणको असर : पाकिस्तानी आकाशमा भारतीय जहाजलाई प्रतिबन्ध

जम्मु कश्मिर आक्रमणको असर : पाकिस्तानी आकाशमा भारतीय जहाजलाई प्रतिबन्ध

शनिवार , बैशाख १३, २०८२

काठमाडौं । मंगलबार भारतप्रशासित जम्मु कश्मिरको पहलगाममा एक नेपालीसहित २६ जनाको मृत्यु हुनेगरी भएको आतंकवादी हमलापश्चात दुई देशबीच द्वन्द्व बढ्दै गएको छ ।

दुई देशबीच बढ्दै गएको तनावकाबीच पाकिस्तानले आफ्नो आकाशमा भारतीय जहाजलाई उडान प्रतिबन्ध लगाएको छ ।

पाकिस्तानको यो निर्णय भारतले सिन्धु जलसम्झौता निलम्बनको निर्णयपछि आएको हो।

पहलगाम घटनाको समयमा युएई भ्रमणमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमण छोट्याएर फर्किएको भोलिपल्ट सुरक्षा क्याबिनेट बैठक बोलाएर सिन्धु जलसम्झौता तत्कालका लागि निलम्बन गर्ने लगायतका पाँच निर्णय गरेका थिए।

त्यसको जबाफमा बिहीबार पाकिस्तानले पनि सिमला सम्झौता, भारतसँगको सबै द्वीपक्षीय सम्झौता र व्यापारसमेत तत्कालका लागि रोक्ने निर्णय गरेको थियो।

त्यस्तै भारतीय जहाजहरुलाई पाकिस्तानी आकाश उपयोग गर्न प्रतिबन्ध लगाइने निर्णय पनि सोही दिन भएको थियो।

यसबाट भारतको ठूला एयरलाइन्सहरू एयर इन्डिया र इन्डिगो प्रभावित हुनेछन्। बिहीबार पाकिस्तानले त्यो निर्णय लिँदा दुई एयरलाइन्सका केही जहाजहरू पाकिस्तानकै आकाशमा थिए।

निर्णय सार्वजनिक भएपछि जहाज डाइभर्ट गरेर पुनः भारत फर्काइएको थियो भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।

पाकिस्तानले भारतीय जहाजहरूलाई आफ्नो आकाश प्रयोग गर्न नदिने भएपछि यी जहाजका अन्तर्राष्ट्रिय उडानहरू अब लामो दूरी भएर जानुपर्ने भएको छ। जसले विमानको खर्च बढ्ने र उडान समय लम्बिने भएको छ।

विशेषगरी नयाँ दिल्लीबाट युरोप, मध्यपूर्व र उत्तर अमेरिकी मुलुकहरूको उडानमा भारतीय जहाजहरूले पाकिस्तानको आकाश प्रयोग गर्थे।

पाकिस्तानको कदमपछि एयर इन्डिया र इन्डिगोले न्युयोर्क, अजरबैजान र दुबईजस्ता गन्तव्यमा लामो हवाइ मार्ग प्रयोग गर्न थालिसकेका छन्।

इन्डिगोको दिल्ली–बाकु उडान बुधबार पाकिस्तानी आकाश प्रयोग गरी जाँदा ५ घन्टा पाँच मिनेटमा गन्तव्यमा पुगेको थियो। बिहीबार भने सोही गन्तव्यमा पुग्न ५ घन्टा ४३ मिनेट लागेको रोयटर्सले जनाएको छ।

यसअघि सन् २०१९ मा पनि पाकिस्तानले भारतीय जहाजलाई आफ्नो आकाशमा प्रतिबन्ध लगाएको थियो। त्यतिबेला भारतीय एयरलाइन्सहरूलाई झन्डै ६४ मिलियन डलर नोक्सानी ब्यहोरेको भनेर रोयटर्सले लेखेको छ।

भारत र पाकिस्तान सरकारले एक अर्काविरूद्ध प्रतिबन्ध लगाउँदै गर्दा सिमानामा दुई देशका सैनिकहरूबीच गोली हानाहान भइरहेका छन्।

जम्मु कश्मिरको नियन्त्रण रेखा (एलओसी)मा भारतीय र पाकिस्तानी सेनाबीच बिहीबार रातिदेखि नै गोली हानाहान भएको हो।

दुई सेनाबीच शुक्रबार रातभरि पनि गोली हानाहान भएको भनेर भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

गोली हानाहानमा दुवै पक्षबाट हताहती भएको विवरण सार्वजनिक भएको छैन।

भारतले मंगलबारको आतंकवादी हमलामा पाकिस्तानको हात रहेको दाबी गर्दै आएको छ। उसको त्यो आरोप पाकिस्तानले इन्कार गरिरहेको छ।

मंगलबारको आक्रमणको जिम्मा भने द रेसिस्टेन्ट फ्रन्ट (टिआरएफ)ले लिएको छ। टिआरएफलाई पाकिस्तानको सैन्य र गुप्तचर निकायले समर्थन गरेको आरोप भारतको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077