एजेन्सी । भारतले पाकिस्तानविरुद्ध गरेको सैन्य कारबाहीको बारेमा अन्तर्राष्ट्रिय समुदायहरूलाई जानकारी गराएको छ ।
भारतका वरिष्ठ अधिकारीहरूले अमेरिका, बेलायत, साउदी अरब, यूएई र रूसका समकक्षीहरूलाई सैन्य कारबाहीको बारेमा जानकारी गराएका हुन् ।
वाशिंगट डिसीस्थित भारतीय दूतावासले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले अमेरिकी विदेशमन्त्री तथा अमेरिकी कार्यवाहक राष्ट्रिय सुरक्षा सल्लाहकार मार्को रुबियोसँग कुराकानी गरेको बताइएको छ ।
यसैबीच, अमेरिकी विदेशमन्त्री रुबियोले भारत र पाकिस्तानको अवस्थाको निगरानी गरिरहेको बताएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भारतले गरेको सीमा नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सीमा पार सैन्य कारबाहीबाट धेरै चिन्तित बनेको बताउँदै दुवै देशलाई संयम हुन अपिल गरे ।
भारतले गएरातिदेखि पाकिस्तान लक्षित ‘अपरेसन सिन्दूर’ सुरु गरेको छ । जसमा अहिलेसम्म ३० भन्दा बढी पाकिस्तानी मारिएको दाबी गरिएको छ ।