एजेन्सी । भारतीय सेनाले ‘अपरेशन सिन्दूर’ अन्तर्गत मंगलबार मध्यरातमा पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका नौ स्थानहरूलाई निशाना बनाएर हमला गरेको दाबी गरेको छ ।
यो कारबाही पहलगाम आक्रमणपछि गरिएको हो, जसमा २६ जनाको मृत्यु भएको थियो । सेनाका अनुसार कारबाही आतंकवाद विरोधी रणनीतिको हिस्सा हो ।
पहलगाममा भएको आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव निरन्तर बढ्दै गएको छ। भारतीय सेनाका अनुसार आतंकवादी लुकेका ठाउँहरूलाई लक्षित गरेर ‘अपरेशन सिन्दूर’ अन्तर्गत गरिएको थियो ।
उक्त ‘अपरेशन सिन्दूर’बारे जानकारी दिन बुधबार बिहान सेनाका दुई महिला अधिकारी पत्रकार समक्ष प्रस्तुत भएका थिए । ती दुईमध्ये एक हुन् कर्नल सोफिया कुरेशी । भारतीय सेनाकी सिग्नल कोर्प्सकी कुरेशी, जसले सन् २०१६ मा पुणेमा भएको ‘फोर्स १८’ सैन्य अभ्यासमा भारतीय टोलीको नेतृत्व गरेकी थिइन् ।
उनी बायोकेमिस्ट्रीमा स्नातकोत्तर हुन्, सन् १९९९ मा १७ वर्षको उमेरमा सेनामा प्रवेश गरेकी थिइन्, र संयुक्त राष्ट्र शान्ति मिसनमा पनि सेवा दिइसकेकी छन् । उनी गुजरातकी हुन् ।
यस्तै सेनाको अपरेशन सिन्दूरको बारेमा मिडियालाई जानकारी दिने दोस्रो अधिकारी विंग कमाण्डर व्योमिका सिंह हुन् । उनी भारतीय वायुसेनाकी हेलिकप्टर पाइलट हुन् । जसले २५०० घण्टाभन्दा बढी उडान भरेकी छन् ।
उनले जम्मु कश्मीर र उत्तर–पूर्व भारतमा कठिन परिस्थितिमा उडान भरेकी छन् र धेरै उद्धार कार्यमा सहभागी भएकी छन् ।
व्योमिका सिंह राष्ट्रिय क्याडेट कोर अर्थात् एनसीसीमा थिइन् र इन्जिनियरिङ गरेकी छन् । उनले २०१९ मा भारतीय वायुसेनाको उडान शाखामा पाइलटको रूपमा स्थायी आयोग प्राप्त गरिन् ।