काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चीनबाट आउने अधिकांश आयातमा एक सय ४५ प्रतिशत भन्सार महसुल अहिलेलाई ‘कायमै रहनेछ’ बताएका छन् ।
अमेरिकी र चिनियाँ अधिकारीहरू यस हप्ता स्विट्जरल्यान्डमा व्यापार वार्ताका लागि तयारी गरिरहेका छन् ।
चीनका लागि नयाँ अमेरिकी राजदूत डेभिड पड्र्युको शपथ ग्रहण समारोहमा ट्रम्पले अमेरिका अब पहिले जस्तो ठूलो व्यापारिक नोक्सानी नभोग्ने बताए ।
ट्रम्पले भने, ‘हामीले वार्षिक १० खर्ब डलर गुमाइरहेका थियौँ, अब हामीले केही पनि गुमाइरहेका छैनौँ, मैले त्यसरी नै हेर्छु ।’
ओभल अफिसमा चीनलाई वार्ता टेबलमा फर्काउन भन्सार महसुल घटाउने विचार गर्नुहुन्छ कि भनेर सोधिएको प्रश्नमा उहाँले सिधै ‘विचार गरेको छैन’ भनेर जवाफ दिएका छन् ।
उनले अमेरिकाले यस हप्ताको व्यापार वार्ताको पहल गरेको हो भन्ने चीनको दाबीलाई अस्वीकार गरे ।
सिएनएनका अनुसार ट्रम्पको टिप्पणीपछि अमेरिकी सेयर बजारहरू केही मात्रामा घटेका छन् र भन्सार महसुल निर्णयको आधिकारिक घोषणापछि निरन्तर घट्दै छन् ।
विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापार मार्चमा भन्सार महसुल युद्ध सुरु भएदेखि नै धेरैजसो रोकिएको छ । तथापि, शीर्ष अमेरिकी र चिनियाँ व्यापार अधिकारीहरूबीचको यस हप्ताको बैठक त्यसयता पहिलो औपचारिक वार्ताको चरण हो ।
यसैबीच फेडरल रिजर्वका अध्यक्ष जेरोम पावेलले व्यापार वार्ताको परिणामले अमेरिकी अर्थतन्त्रमा महत्त्वपूर्ण प्रभाव पार्न सक्ने बताए ।
उनले भने, ‘हामी एउटा नयाँ चरणमा प्रवेश गरिरहेका छौँ, जहाँ प्रशासनले हाम्रा थुप्रै महत्त्वपूर्ण व्यापारिक साझेदारहरूसँग वार्ता सुरु गरिरहेको छ । त्यसले आर्थिक परिदृश्यलाई भौतिक रूपमा परिवर्तन गर्ने क्षमता राख्छ — वा नराख्न पनि सक्छ ।’