एजेन्सी । भारतीय सेनाले 'अपरेशन सिन्दूर' अन्तर्गत पाकिस्तानको बहावलपुरमा गरेको मिसाइल आक्रमणमा जैश–ए–मोहम्मदका प्रमुख कमाण्डर रउफ असगर मारिएका छन् ।
असगर जैश संस्थापक मसूद अजहरका भाइ थिए र १९९९ को इन्डियन एयरलाइन्स अपहरण, पठानकोट हमला, र भारतीय संसद आक्रमणका मुख्य योजनाकार मानिन्छन् ।
रउफ असगरले भारतमा खेलेको रक्तपातपूर्ण खेलका कारण ‘मोस्ट वान्टेड’ आतंककारी थिए । उनले २००७ मा जैश ए मोहम्मदको अपरेशनल प्रमुखको रूपमा पदभार ग्रहण गरेका थिए र भारत विरुद्ध क्रूर अपरेशनको योजना बनाएका थिए ।
रिपोर्टका अनुसार असगरले २४ वर्षको उमेरमा इन्डियन एयरलाइन्स अपहरण गर्ने षड्यन्त्र रचेका थिए । भारत सरकारले विमानमा सवार सर्वसाधारणको बदलामा ५ जना डरलाग्दो आतंककारीलाई रिहा गर्नुपरेको थियो, जसमा मसूद अजहर पनि यसमा संलग्न थिए ।
आक्रमणमा अजहरका परिवारका १० सदस्यसहित १४ जनाको मृत्यु भएको थियो । असगरको अन्त्येष्टिमा पाकिस्तानी सेना र आईएसआईका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।