एजेन्सी । भारत–पाकिस्तानबीच युद्धविराम लागू भएको तीन घण्टामै पाकिस्तानले उल्लंघन गरेको छ । पाकिस्तानले जम्मु–कश्मीरका विभिन्न स्थानमा ड्रोन आक्रमण गरेको हो ।
श्रीनगरमा धमाकाको आवाज सुनिएपछि स्थानीयहरू त्रसित बनेका छन्। शनिबार साँझ ५ बजेदेखि भारत–पाकिस्तानबीच युद्धविराम औपचारिक रूपमा लागू भएको थियो ।
तर, त्यसको तीन घण्टा नबित्दै राति ८ बजेबाट पाकिस्तानले जम्मु–कश्मीरको अखनूर, पुंछ, नौशेरा, श्रीनगर, आरएसपुरा, सांबा र उधमपुर क्षेत्रमा गोलीबारी थालेको भारतीय सुरक्षा स्रोतहरूले जनाएका छन्।
राजौरी क्षेत्रमा तोप र मोर्टार प्रहार गरिएको पुष्टि भएको छ भने उधमपुरमा ड्रोन आक्रमणसमेत गरिएको छ। श्रीनगरसहित धेरै क्षेत्रमा सायरन बजाइएको छ र सुरक्षा संयन्त्र कडा पारिएको छ।