एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मध्यपूर्व देशहरूको भ्रमणमा छन्। उनी तीनदिने भ्रमणको सिलसिलामा साउदी अरब पुगेका छन्।
दोस्रो पटक राष्ट्रपति बनेपछि ट्रम्पको यो पहिलो औपचारिक विदेश भ्रमण हो।
यसअघि उनी पोप फ्रान्सिसको अन्त्येष्टिमा भाग लिन २६ अप्रिलमा भ्याटिकन पुगेका थिए।
साउदी अरबका युवराज मोहम्मद बिन सलमानले किंग खालिद विमानस्थलमा ट्रम्पलाई स्वागत गरेका थिए।
ट्रम्पले आजै साउदी राजधानी रियादमा युवराज मोहम्मद बिन सलमान (एमबीएस) लाई भेट्नेछन्। ट्रम्पले मे १४ मा खाडी नेताहरूको शिखर सम्मेलनमा भाग लिनेछन् र त्यसपछि कतार जानेछन्।
ट्रम्प आफ्नो भ्रमणको अन्तिम दिन मे १५ मा युएई पुग्नेछन्। अमेरिकामा राष्ट्रपति बनेपछि क्यानडा – मेक्सिको वा युरोपेली देशको भ्रमण गर्ने परम्परा छ।
२०१७ मा राष्ट्रपति बनेपछि ट्रम्पले पहिलो पटक साउदी अरेबिया पुगेर यो परम्परा तोडेका थिए।
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा साउदी अरेबिया लगायत खाडी देशहरूसँग राम्रो सम्बन्ध स्थापित गरेका थिए।
ट्रम्पले पद छोडेपछि पनि साउदी अरेबियाले ट्रम्पका ज्वाइँ तथा पूर्व सहयोगी जारेड कुशनरको फर्ममा २ अर्ब डलर लगानी गरेको थियो।
जमाल खशोग्गीको हत्यापछि साउदी अरेबिया र अमेरिकाबीचको सम्बन्धमा आएको तनावलाई सम्हाल्न कुशनरले मद्दत गरेको धेरै रिपोर्टहरूले दाबी गरेका छन्।