काठमाडौं । पाकिस्तानविरुद्ध भएको ‘अपरेसन सिन्दूर’बारे सोमबार देशवासीलाई सम्बोधन गरेर बताएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार बिहान पञ्जाबको आदमपुर एयरबेसमा पुगेका छन् ।
त्यहाँ पुगेर प्रधानमन्त्री मोदीले वायुसेनाका जवानहरूसँग भेट गरेका छन् ।
सामाजिक सञ्जालमा आएका तस्वीरहरूमा प्रधानमन्त्री मोदी सेनाका जवानहरूमाझ देखिएका छन्।
प्रधानमन्त्री मोदीले आदमपुर एयरबेसको आफ्नो यात्राबारे सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्ट पनि शेयर गरेका छन् ।
गत हप्ता दुई देशबीच भएको सैन्य संघर्षमा पाकिस्तानी सेनाले भारतको आदमपुर एयरबेसमा हमला गरी मिसाइल डिफेन्स सिस्टम एस – ४०० ध्वस्त पारेको दाबी थियो ।
यद्यपि भारतीय सेनाले आदमपुर एयरबेसमा हमला गर्ने प्रयास भएको स्वीकार्दै तर त्यसलाई असफल बनाइएको जनाएको थियो ।
मोदीले भनेका छन्, ‘आज बिहान म एएफएस आदमपुर गएर हाम्रा वीर वायु योद्धा र सैनिकहरूलाई भेटेँ । साहस, प्रतिबद्धता र निडरताका प्रतीक व्यक्तिहरूसँग समय बिताउनु एक अत्यन्त विशेष अनुभव रह्यो।’
उनले भारत सदैव हाम्रा सशस्त्र बलप्रति आभारी रहने बताए ।
प्रेस ट्रस्ट अफ इन्डियाद्वारा जारी गरिएको एक भिडियोमा प्रधानमन्त्री मोदी सेनाका जवानहरूसँग कुराकानी गरिरहेको देखिएका छन् ।
गत मे ७ को बिहान साढे १ बजे पाकिस्तानभित्र भारतद्वारा गरिएका हवाई हमलापछि दुवै देशबीच तनाव बढेको थियो । जुन तनावलाई १० मेका दिन युद्धविराममार्फत् टुंग्याइएको थियो ।