काठमाडौं । पाकिस्तानसँग संघर्षविरामको सहमति गरेको छिमेकी मुुलुक भारतले अपरेसन भने कायम नै राखेको छ ।
भारतीय सेनाले जम्मु–कश्मीरमा ३ ‘खतरनाक’ अतिवादी मारिएको दावी गरेको छ ।
जम्मु–कश्मीरको शोपियाँ जिल्लामा सुरक्षा बलको कारबाहीमा तीन अतिवादी मारिएको भारतीय सेनाले जनाएको छ ।
भारतीय सेनाले सामाजिक सञ्जाल एक्समार्फत अतिवादी मारिएको दावी गरेको हो ।
भारतीय सेनाले दिएको जानकारीअनुसार मंगलबार सुरक्षा बलले केलरको जंगलमा अतिवादीहरूविरुद्ध अपरेसन सुरु गरेको छ।
पोस्टमा अगाडि भनिएको छ–‘१३ मे २०२५ मा राष्ट्रिय राइफल्सले शोपियाँ जिल्लाको शोकल केलरको जंगलमा केही आतंककारीहरूको उपस्थितिबारे गुप्तचर सूचना प्राप्त गर्यो। यसपछि सुरक्षा बलले उनीहरूलाई खोजी र समाप्त गर्न अभियान सुरु गर्यो। अपरेसनका क्रममा आतंककारीहरूले सुरक्षा बलमाथि गोलाबारी गरे। जवाफी कारबाहीमा तीन खतरनाक आतंककारी मारिए।’
सेनाले अतिवादीहरूविरुद्ध सुरक्षा बलको कारबाही अझै जारी रहेको जनाएको छ।
एप्रिल २२ मा भारत प्रशासित कश्मीरको पहलगाममा आतङ्कवादीहरूले २६ जना पर्यटकको ज्यान लिएपछि बढेको तनावका माझ भारतले मे ७ मा पाकिस्तान तथा पाकिस्तान प्रशासित कश्मीरमा सैन्य कारबाही गरेको थियो।
त्यसपछि करिब चार दिनसम्म दुई पक्षबीच आक्रमण र प्रत्याक्रमणका विवरण आएका थिए।