दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) दुबईमा नयाँ कन्सेप्टसहित नेपालीको पहिलो गेष्टहाउस (पाहुना घर) ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ (एलएलसी) पुनः सञ्चालनमा आएको छ ।
आठ वर्षदेखि सञ्चालमा रहँदै आएको उक्त रेष्टुरेन्ट तीन महिनायता बन्द अवस्थामा थियो ।
विगत २२ वर्षदेखि दुबईमा व्यवसाय गर्दै आइरहेका युवा व्यवसायी राजेन्द्र गुरागाईंले उक्त रेष्टुरेन्ट आजबाट औपचारिक रुपमा पुनर्संरचना(रिनोभेसन) गरी सञ्चालनमा ल्याएका हुन् ।
दुबईमा नेपालीहरु बढी भएको स्थान बरदुबईमा सञ्चालनमा आएको एलएलसीले नेपाली परिकार पस्किने मात्र नभई नेपालीपनकै झल्को दिनेगरी सञ्चालनमा ल्याइएको युवा व्यवसायी गुरागाईं बताउँछन् ।

सन् २०१८ मार्च २३ देखि सञ्चालनमा रहँदै आएको उक्त रेष्टुरेन्ट बिगत ३ महिना यता दुबई सरकार तथा दुबई नगरपालिकाले आन्तरिक कार्यका लागि भन्दै बन्द गरेको थियो ।
तर, हिजो अर्थात जुन ४, २०२५ मा दुबई सरकार र नगरपालिका तथा दुबई अदालतले विधिवत रूपमा नेपालीकै नाममा अनुमति प्रदान गरेपछि नयाँ व्यवस्थापन, नयाँ सजावटसहित आजबाट सञ्चालनमा आएको हो ।
नेपाली कम्युनिटीहरुको बाहुल्य रहेको स्थान बरदुबईमा दुबई सरकारको सम्पदा सूचीमा रहेको भवन भित्र सञ्चालनमा आएको उक्त रेष्टुरेन्टमा नयाँ–नयाँ नेपाली परिकारको स्वाद चाख्न पाइने सञ्चालक गुरागाईंले बताए ।
रेष्टुरेन्टले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण ग्राहक तथा सेवाग्राहीहरुलाई सञ्चालनमा आएको बारे जानकारी गराएको छ ।
रेष्टुरेन्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘तपाईं सम्पूर्ण ग्राहक समाजसेवी बुद्धिजिवी दाजुभाइ दिदीबहिनीमा विनम्र जानकारी गराउँदछौ कि आज मिति २०२५–०६–०५ बिहिबार गंगादशहराको पावन अवसर पारी हामीले सनातन वैदिक विधि अनुसार एलएलसी पुनः प्रारम्भ गरेका छौं ।’

रेष्टुरेन्टले शुक्रबारबाटै ग्राहकहरुका लागि सम्पूर्ण सेवा पुनः सुचारु गरिएको पनि जनाएको छ ।