एजेनसी । इरानका विदेशमन्त्री अब्बास अराघचीले इरानका प्रमुख आणविक केन्द्रहरूमा अमेरिकाले आक्रमण गरेको ४८ घण्टापछि सोमबार प्रमुख सहयोगी भ्लादिमिर पुटिनसँग ‘महत्वपूर्ण’ भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
रुसले इजरायली र अमेरिकी आक्रमणको निन्दा गरे पनि उसले सैन्य सहयोगको प्रस्ताव गरेको छैन र केही महिनाअघि तेहरानसँग भएको रणनीतिक साझेदारी सम्झौताअन्तर्गत आफ्नो दायित्वलाई बेवास्ता गरेको छ ।
‘यो नयाँ खतरनाक परिस्थितिमा रूससँग हाम्रो परामर्श निश्चित रूपमा ठूलो महत्वको हुन सक्छ,’ मस्कोमा अवतरण पछि रुसी सरकारी मिडियाले अराघचीलाई उद्धृत गर्दै भनेको छ।
इरानविरुद्ध संयुक्त राज्य अमेरिका र यहुदी शासनको सैन्य आक्रमणपछि क्षेत्रीय र अन्तर्राष्ट्रिय घटनाक्रमका बारेमा अराघचीले रुसका राष्ट्रपति र अन्य वरिष्ठ अधिकारीहरूसँग परामर्श गर्ने इरानी सरकारी समाचार संस्था आइआरएनए (इरना)ले आइतबार जनाएको छ ।
पुटिनले सुरुमा आफूलाई इरान र इजरायलबीचको सम्भावित मध्यस्थकर्ताको रूपमा प्रस्तुत गरेका थिए तर शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रेमलिन नेताको भूमिकाको विरोध गरेपछि उनले ‘सुझावहरू दिइरहेको’ मात्र बताएका थिए ।