काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता एमालेले नखोसेको बताए ।
पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भण्डारी राष्ट्रपति हुने बेलामा आफैँले पार्टी सदस्यता परित्याग गरेको बताए ।
उनले भने–‘उहाँले सदस्यता छाडेर राष्ट्रपति हुन जानुभएको हो । फर्केर आएपछि रसिद काट्ने ठाउँमा कर्मचारी झुक्याएर लिएर हुँदैन । राष्ट्रपति भएको मान्छेलाई कर्मचारीले त रसिद काट्दिन्छ। त्यसरी लिने होइन ।’
छाडेको सदस्यता नवीकरण नहुने बताउन्दै उनले थप भने–‘कसैको सदस्यता नै छैन भने कसरी नवीकरण हुन्छ ? उहाँको सदस्यता नै थिएन । उहाँले ०७२ कात्तिक १२ गते परित्याग गर्नुभएको हो । त्यसयता उहाँको पार्टी सदस्यता छैन । त्यस्तो सदस्यता प्यारो थियो भने त राष्ट्रपति हुन नजान पर्थ्यो नि । अहिले आएपछि खोज्नुहुन्छ नभएको सदस्यता नवीकरण हुँदैन ।’
कार्यक्रममा प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति भण्डारीले थापागाउँमा सम्पर्क कार्यालय खोलेकोप्रति आक्रोश व्यक्त गरे । उनले राष्ट्रपतिबाट फर्केर आएपछि पार्टीमा समस्या खडा गर्ने कुरा आफूहरूले कल्पना पनि नगरेको बताए ।
उनले भने–‘दुई पटक उहाँलाई पार्टीले राष्ट्रपति बनायो, फर्केर आएर पार्टीमा समस्या खडा गर्नुहुन्छ भन्ने कल्पना गरेको थिएन । तर, उहाँ आएर पार्टीको एकतामा बल पुर्याउनुपर्ने हो । तर, पार्टीभित्र सधैँ असन्तुष्ट भएका, पार्टीमा जनसङ्गठनमा चुनाव हारेका असन्तुष्ट मान्छेहरू भेला गर्दै हिँड्नुभएको छ ।’
मदन भण्डारीका अर्को वर्ष आउने जन्मदिन मनाउनको लागि अहिलेदेखि नै पार्टी कार्यालय खोल्नुपर्छ ? भन्दै प्रश्न गरेका उनले भने–‘अर्को वर्षको जन्मदिन मनाउनको लागि अहिलेदेखि नै पार्टी कार्यालय खोलेर, असन्तुष्ट तत्त्वहरूलाई भेला गर्नुपर्छ ? यत्रो ठूलो आन्दोलनमा कहिलेकाहीँ हुन्छन् ।’
हिजो भण्डारीको सम्पर्क कार्यालय खोल्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष द्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीसहित नेता कार्यकर्ताहरू सहभागी भएका थिए ।