काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनको प्रक्रियामा आदिवासी जनजातिको पहिचान सुरक्षित हुने व्यवस्था मिलाइने बताएका छन् ।
नेपाली कांग्रेसको आदिवासी जनजाति विभागद्वारा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘आदिवासी जनजाति योद्धाहरू’ पुस्तक विमोचन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले आदिवासी जनजाति समुदायले प्रजातन्त्र स्थापनाका लागि पुर्याएको योगदानलाई उच्च मूल्याङ्कन गरेको बताए ।
‘नेपाली कांग्रेस स्थापनाअघि नै आदिवासी जनजातिका साथीहरूले प्रजातन्त्रका लागि संघर्ष गर्नुभएको छ। उहाँहरूले प्रजातन्त्र स्थापनामा घरपरिवारको प्रवाह नगरी जीवनसम्म बलिदान दिनुभएको छ। यिनै योगदानकै आधारमा आज नेपाल लोकतान्त्रिक गणतन्त्र बन्न सफल भएको हो,’ सभापति देउवाले भने ।