काठमाडौं । गृहमन्त्री रमेश लेखकले एउटा संविधान निर्माणको लागि २० वर्ष लाग्ने बताएका छन् । आज काठमाडौमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले वर्तमान संविधान असफल भए देशमा अकल्पनीय द्वन्द्व सुरु हुने बताए ।
उनले भने- 'एउटा संविधान निर्माणको लागि २० वर्ष लाग्दो रहेछ । यो संविधानको असफलतापछि मुलुकमा उत्पन्न हुने द्वन्द्व, आज हामी द्वन्द्वको कुरा गर्दै छौँ, आजको द्वन्द्वको नेचर कस्तो छ भने हामी संघीयतामा छौँ। दुई पालिकाका बीचमा प्राकृतिक स्रोतका लागि द्वन्द्व छ । अधिकारको बाँडफाँडको लागि द्वन्द्व भइरहेको छ, आजको द्वन्द्व । तर, यदि संविधान असफल भयो भने अकल्पनीय द्वन्द्वहरू यो देशमा सुरु हुन्छ । जसले अब २० वर्षमा पनि संविधान बनाउन सक्ने स्थिति हुँदैन । त्यसकारण संविधानको रक्षा, यसको सुदृढीकरण, समयसापेक्ष संशोधन पनि म भन्न चाहन्छु । यही संविधानलाई बचाइराख्न पर्छ ।'
केही व्यक्ति संविधान असफल बनाउने षड्यन्त्रमा रहेको जिकिर गर्दै उनले यहि वर्तमान संविधानलाई नै बचाइराख्न आग्रह गरे।