काठमाडौं । नेपालको संविधान घोषणा भएको एक दशक पुरा भएको अवसरमा यस वर्षको संविधान दिवस तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले मूल समारोह समिति गठन गर्दै असोज २, ३ र ४ गते देशभर र विदेशस्थित नेपाली नियोगमार्फत त्रिदिवसीय उत्सव गर्ने निर्णय गरेको हो ।
२०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थासहित नेपालको संविधान जारी भएको दिनलाई प्रत्येक वर्ष संविधान दिवसका रूपमा मनाइँदै आएको छ। यसपटक दस वर्ष पूरा भएकाले यस वर्षको दिवसलाई थप हर्षोल्लासपूर्ण बनाउन सरकारले विशेष तयारी गरेको छ।
मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, मुख्यसचिव, प्रधानसेनापति, सचिवहरू, काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख–उपप्रमुख, सुरक्षा निकायका प्रमुखहरू सदस्य रहनेछन्। गृह सचिव सदस्यसचिव रहने गरी उपसमिति समेत गठन गरिएको छ।
दिवसको मुख्य समारोह असोज ३ गते टुँडीखेलस्थित सैनिक मञ्चमा हुने छ, जसमा सर्वसाधारणको सहभागिता समेत रहनेछ। प्रदेश र स्थानीय तहमा समेत विभिन्न कार्यक्रम हुनेछन्। साथै राष्ट्रिय गानसहितको ूराष्ट्रभक्तिको सङ्गीत महोत्सव ९नेशनल डे कन्सर्ट०ू आयोजना गरिनेछ भने जनस्तरका झाँकी, प्रदर्शनी तथा विविध सांस्कृतिक कार्यक्रम हुनेछन्।
यस्तै संविधानको ऐतिहासिक पृष्ठभूमि, महत्व र संविधानले अंगीकार गरेका मौलिक हक, समावेशिता, महिला सशक्तीकरण, राष्ट्रियता र कल्याणकारी राज्यका विषयमा विशेष संवाद, परिसंवाद र नाटकजस्ता सिर्जनात्मक कार्यक्रम तयार गरी रेडियो, टेलिभिजन, छापा र सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार गरिनेछ।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधानको दस वर्षे यात्रालाई जनस्तरमा विशेषरूपमा मनाउन आग्रह गरे। उनले “संविधानसँग विकास, राष्ट्रियता, आधुनिकता, मौलिक हक र समावेशी चरित्र जोडिएको छ। यसलाई वडा र विद्यालय तहसम्म पुर्याएर जनतालाई संविधानका उपलब्धिहरूसँग जोड्नुपर्छ” भने।