काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।
विप्लवलाई भेट्न प्रचण्ड विप्लव निवास हरिसिद्धी पुगेका थिए । उनीहरुबीच समसामयिक राजनीतिक अवस्था र दुई पार्टीबीचको एकताबारे छलफल भएको बताइएको छ।
उनीहरुबीच करिब ५० मिनेट भेटवार्ता भएको थियो । गत साउन १६ गतेदेखि १९ गतेसम्म बसेको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता प्रक्रिया अघि बढाउन समिति बनाउने निर्णय गरेको थियो ।
विप्लवका सचिवालय सदस्य नारायण चन्दका अनुसार प्रचण्ड र विप्लवबिच समाजवादी मोर्चालाई बलियो बनाएर लैजाने र पार्टी एकतालाई सकारात्मक निष्कर्षमा पुर्याउने विषयमा छलफल भएको छ ।
अध्यक्ष प्रचण्डले विप्लवलाई ‘एकतालाई सकारात्मक निष्कर्षमा पुर्याउन तपाईंको पार्टीले पनि सकारात्मक निर्णय गर्ने विश्वास लिएको छु’ भनेपछि जवाफमा महासचिव विप्लवले भदौ २२ मा बस्ने पार्टीको केन्द्रीय समिति बैठकले निर्णय गर्ने बताएका छन् ।
यता प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले भने राजनीतिक कुराकानी भन्दा पनि हरिसिद्धिमा विप्लवको कृषि फार्म अवलोकनका लागि प्रचण्ड त्यहाँ पुगेको बताएका छन् ।
यसैबीच विप्लवलाई भेट्न प्रचण्ड हरिसिद्धि पुग्दा एमालेका नेता महेश बस्नेतलाई भने छटपटी भएको छ । उनले फेसबुकमा लेखेको स्टाटसले पनि बस्नेतलाई कति छटपटी भएको रहेछ भन्ने प्रष्ट हुन्छ ।
विप्लवले आफ्नो घरमा प्रचण्डलाई स्वागत गरेको तस्विर राखेर नेता बस्नेतले ‘घेराबन्दीमा परेका प्रचण्डको छटपटी र दौडधूप साँच्चै हेर्नलायक छ’ भन्दै स्टाटस लेखेका छन् ।
नेता बस्नेतले भनेका छन्–‘जनार्दन शर्माको खुलेआम चुनौतीबीच प्रचण्ड आफैं विप्लवको घर पुगेर महासचिव बन्न प्रस्ताव गरे भन्ने समाचार आयो। यो उनको छटपटीको संकेत हो।३७ वर्षदेखि डण्डा चलाएर अध्यक्ष भइरहेकालाई पहिलोपटक पार्टीभित्रै असली चुनौती सामना गर्दैछन्। अबको खेल हेर्नलायक हुनेछ ! घेराबन्दीमा परेका प्रचण्डको छटपटी र दौडधूप साँच्चै हेर्नलायक छ।’