काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीजको दर खाने दिनको अवसरमा शुभकामना व्यक्त गर्दै यस पर्वले पारिवारिक मिलाप र आत्मीयतालाई प्रगाढ बनाउने बताएका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत उनले तीजको सांस्कृतिक महत्व र समयसँगै यसमा आएको परिवर्तनबारे चर्चा गरेका हुन् ।
प्रधानमन्त्री ओलीले विगतमा भौतिक सुविधा नभएको र यातायात तथा सञ्चारको अभाव रहेको समयमा तीजले छोरी-चेली र माइतीको भेटघाट गराउने महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गरे।
‘हिजोको समाज आजको जस्तो भौतिक सुविधामा थिएन, एउटा गाउँबाट अर्को गाउँमा पैदल हिँडेर पुग्नु पर्थ्यो,’ उनले लेखेका छन्, ‘पुरानो पारिवारिक र सामाजिक जीवनका कठिनाइहरू तीजका पुराना गीतमा पाइन्छन्।’
उनले समयसँगै संयुक्त परिवारको संस्कृतिमा परिवर्तन आएको र महिलाहरूमा आत्मनिर्भरता तथा सशक्तीकरण बढेकाले दर खाने प्रचलनमा पनि फेरबदल आएको उल्लेख गरे ।
तर, पर्वको मौलिक मर्म भने कायमै रहेको उनको भनाइ छ । ‘विवाहित छोरी सहित वर्षमा एकदिन भए पनि तीन पुस्तासम्म एउटै छानोमुनि बसेर दर खाँदै आत्मियता साट्ने अवसर हो यो,’ प्रधानमन्त्रीले लेखेका छन् ।
उनले थपे, ‘आजको दिनले हामी सबै माइती र चेलीलाई प्रगाढ पारिवारिक ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस्। दर खाने दिनको सबैलाई शुभकामना ।’