काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीको सुरक्षित रिहाइका लागि जोर्डनका राजा अब्दुल्ला द्वितीयसँग आग्रह गरेका छन् ।
राष्ट्रपति पौडेलले मंगलबार एक पत्र पठाउँदै जोशीको अवस्था पहिचान, सुरक्षित रिहाइ तथा स्वदेश फिर्तीका लागि जोर्डनी पक्षबाट आवश्यक कूटनीतिक तथा मानवीय पहल गर्न अनुरोध गरेका हुन् ।
पत्रमा राष्ट्रपति पौडेलले भनेका छन्, “यस प्रयोजनका लागि जोर्डनले चाल्ने सबै मानवीय र कूटनीतिक कदमको नेपाल र नेपाली जनताले उच्च सम्मान र स्वागत गर्नेछन्।”
यसअघि जोशीकी आमा र बहिनीले आइतबार शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई भेट गरी छोराको रिहाइका लागि तत्काल पहल गर्न आग्रह गरेका थिए। सो अवसरमा राष्ट्रपति पौडेलले सरकार र आफूबाट सक्दो प्रयास गरिने विश्वास दिलाएका थिए।
जोशीलाई इजरायल–हमास युद्धका क्रममा हमासले बन्धक बनाएको थियो। उनको अवस्था हालसम्म अज्ञात छ।