विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारत सीमा समस्या समाधानका लागि भारतीय पक्षसँग प्रत्यक्ष र औपचारिक रूपमा कुरा गर्ने पहिलो प्रधानमन्त्री आफू भएको दाबी गरेका छन् ।
बिहीबार विराटनगरमा बसेको प्रदेश नं. १ समिति सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले भारत भ्रमणका क्रममा कालापानी र लिपुलेकबारे खुलेर संवाद गरेको उल्लेख गरेका हुन् ।
उनले भने, “म प्रधानमन्त्रीको रूपमा पछिल्लो पटक भारत गएको बेला कालापानी र लिपुलेकको विषयमा गम्भीर ढंगले कुरा गरेँ। इतिहासमै पहिलोपटक मेरो नेतृत्वमा रहेको सरकारले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल–भारत सीमा समस्या संवादबाट समाधान गरिनेछ भन्ने सार्वजनिक घोषणा गराएको हो।”
उनले यस उपलब्धिलाई अहिलेको सरकारले निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए । पार्टी कार्यकर्ताले पनि आफ्नो नेतृत्वमा भएका सकारात्मक कामबारे जनतालाई जानकारी दिनुपर्ने प्रचण्डको भनाइ थियो ।