काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा जलविद्युतको प्रचुर सम्भावना रहेको बताएका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा आज नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनीको शुभारम्भ गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।
उनले भने- 'नेपालमा जलविद्युतको अपार सम्भावना छ’ उनले भने, ‘उत्पादन पनि भइरहेको छ । हामीले छिमेकी मुलुकमा निर्यात गर्नसक्छौँ । विभिन्न कम्पनीहरुले आफ्ना उत्पादनहरु प्रस्तुत गर्नुभएको छ । गुणस्तरमा प्रतिष्पर्धा भइरहेको छ । हाम्रो उत्पादनलाई वृद्धि गर्नेकुरा स्वाभाविक रूपमा हुन्छ । यसको खपत हुन्छ, यसको बजार निश्चित छ। नेपालले विद्युत छिमेकी देशमा पनि बेच्न सक्ने र विद्युतीय सामग्रीको प्रयोग अझ बढाउन सक्ने बताए ।'
उनले थपे- 'सबै स्वदेशी, विदेशी कम्पनीहरुलाई नेपालमा स्वागत गर्दछौँ । निजी क्षेत्रबाट भइरहेको यो प्रयासलाई सरकारले विभिन्न किसिमको सहयोग गरिरहेको छ । यो सम्भावनासँगै यसको राम्रो भविष्य छ भन्ने म ठान्छु ।'
मन्त्री भण्डारीले आजको बजारमा वस्तुहरुको उत्पादन र बजारीकरणको होडबाजी रहेको उल्लेख गर्दै उक्त प्रतिष्पर्धामा नेपालका कम्पनीहरू पनि रहेको बताए ।