काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सरकारले तीनै तहका सुरक्षाकर्मी परिचालन गर्ने बताएका छन् ।
आजको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य मन्त्रालयको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कार्यरत स्वास्थ्यकर्मी, डाक्टरहरूलाई समेत परिचालन गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
उनले भने- 'स्वास्थ्य मन्त्रालयको समन्वयमा नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरीका नर्स, डक्टर र उपकरणको प्रयोग गर्ने आजै मात्र मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ, र यस रोगलाई सकेसम्म छिटो नियन्त्रण गर्न, बिरामी निको पार्न र बढ्न नपाओस् भनेर तीव्र ढंगले प्रयास भएको छ । यस रोगको स्रोत के हो ?, कहाँबाट यो फैलियो ?, यो कुनै ढलबाट, खानेपानीबाट, कुन स्रोतबाट रोग फैलियो भन्ने छानबिन भइरहेको छ ।'
रोग नियन्त्रणका लागि तीव्र ढंगले प्रयास भइरहेको र हैजाको स्रोत पत्ता लगाउन सरकारले प्रयास गरिरहेको उनले बताए ।
यस्तै वीरगञ्जमा पछिल्लो २४ घण्टामा मात्रै ८४ वटा हैजा र झाडापखालाका नयाँ बिरामी थपिएका छन् । अहिलेसम्म वीरगञ्जमा हैजा र झाडापखाला लक्षण देखिएका ३ जनाको मृत्यु भएको छ । योसैगै संक्रमित हुनेको संख्या एक सय ५२ जना पुगेको छ।
झाडापखला लागेर अस्पताल भर्ना हुने बिरामीको संख्या ६ सय ७६ जना पुगेको छ। जस मध्ये ३२ जना बिरामीको आइसीयु र ७ जनाको एचडियुममा उपचार भइरहेको छ भने एक ८९ जनाको जिल्लामा रहेका विभिन्न स्वास्थ्य संस्थाहरूमा उपचार भइरहेको छ। ४ सय ४७ जना उपचार पश्चात डिस्चार्ज भइसकेका छन्।
यस्तै आरडिटी परीक्षणमा हैजा पुष्टि भएका एक सय ५२ जना मध्ये ७८ जना उपचार पछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन भने ७४ संक्रमित मध्ये २० जना को नेशनल मेडिकल कलेज, ४६ जनाको तराइ अस्पताल, ४९ जनाको नारायणी अस्पताल र अन्य संक्रमितको जिल्लामा रहेका अन्य अस्पतालहरूमा उपचार भइरहेको छ ।