काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान चीन भ्रमणमा जाँदै छन् ।
चीनका राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली शनिबारदेखि ५ दिनका लागि चीन भ्रमणमा जान लागेका हुन् ।
चीनको तियानजिन सहरमा आयोजना हुने सांघाई सहयोग संगठन (सांघाई कोअपरेसन अर्गनाइजेसनको) शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली चीन जान लागेका हुन् ।
भ्रमण दलमा प्रधानमन्त्री ओलीको श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्व उपप्रधानमन्त्री सांसद पूर्णबहादुर खड्का, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री एवम् सांसद छबिलाल विश्वकर्मा र नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरू सहभागी हुनेछन् ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई मन्त्रिपरिषद्को शुक्रबारको बैठकले स्वीकृत गरेको छ । मन्त्रिपरिषद्मा प्रधानमन्त्री ओलीले चीन भ्रमणमा उठाउने एजेन्डाका विषयमा मन्त्रीहरूसँग छलफल गरेका थिए ।
प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा नेपालको भूमिमा भारत–चीनले व्यापार मार्ग खोल्न गरेको सहमतिबारे कुरा राख्ने बताएका छन्।
भ्रमण तथा कार्यक्रम सकेर प्रधानमन्त्री ओलीको टोली भदौ १८ गते स्वदेश फर्कने तालिका छ।