काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले महानगर प्रहरीको काम हेर्दा हलिउड फिल्म हेरेजस्तै लाग्ने टिप्पणी गरेका छन् ।
आज ३३औँ महानगर प्रहरी दिवस कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले भने- 'सार्वजनिक सम्पत्ति संरक्षण, अतिक्रमण हटाउनेदेखि लिएर काठमाडौँ महानगरपालिकामा सुशासन, सुव्यवस्था, अनुगमन गर्ने कामहरूमा तपाईँहरूको उल्लेखनीय योगदान छ । सानोमा हुँदाको एउट कुरा याद आउँछ, हामीले हलिउड फिल्म हेर्दाखेरि त्यसमा न्युयोर्क सिटी पुलिसको काम कारबाहीहरू हेर्दाखेरि लाग्थ्यो काठमाडौंलगायत देशका विभिन्न पालिकाहरूमा सिटी पुलिस कस्तो हुनुपर्छ भन्ने कुराहरू सिनेमामा मात्रै हेर्न पाइन्थ्यो पहिला र अचेलचाहिँ तपाईंहरूको काम हेर्दा कहिलेकाहीँ सिनेमा हेरेजस्तो पनि लाग्छ । त्योचाहिँ खुसीको कुरा हो।'
शाहले महानगर प्रहरी काठमाडौंको पहिचानको रुपमा भइ फिल्ममा देखाइएको काम रियलमा हुनु खुसीको कुरा भएको उनले बताए ।
त्यस्तै, मेयर शाहले सार्वजनिक सम्पत्ति संरक्षण र अतिक्रमण हटाउनेदेखि लिएर काठमाडौं महानगरपालिकामा सुशासन, सुव्यवस्था र सुअनुगमन गर्ने काममा महानगर प्रहरीको उल्लेखनीय योगदान रहेको बताए ।