काठमाडौं । सडक बिभागका एक ओभरसियरले बिभाग नै हल्लाउने गरेका छन् । २०७२ सालबाट ओभरसियर पदमा प्रवेश गरेका अछामका राजन खड्काले सरकारी गाडी समेत नियम बिपरीत प्रयोग गर्दैआएका छन् ।
अछाम घर भई हाल सडक बिभागको फाजिल दरवन्दीमा रहेका खड्काको हैकमले बिभागमा सीमा नाघेको छ । नेपाल निजामती कर्मचारी युनियनको टीके केन्द्रीय सदस्य र नायब सुब्वा सरहका खड्कालाई सडक बिभागका महानिर्देशकले बा १ झ ९७६१ नम्बरको गाडी उपलब्ध गराएका छन् ।
बिभागले सुई (सुपेरिडेन्ट इन्जिनियर) भन्दा माथिको दर्जामा राखेर उनलाई सरकारी गाडी सुविधा दिएको छ । करिब ४ सय इन्जिनियर, ७ सय जना सबइन्जिनीयर, १ सय ४ जना सीडीई र १९ जना सुईको दरवन्दी भएको ठाउँमा ओभरसियरको दादागिरीले सीमा नाघेको गुनासो सडक बिभाग अन्तर्गतका कर्मचारीहरुको छ ।
हरेक सरुवा बढुवामा म मिलाउँछु भन्दै पैसा उठाउने गरेको आरोप खड्कामाथि छ । सेटिङ गर्ने र सूची महानिर्देशक र सचिवलाई दिने, भनेको ठाउँमा सरुवा नभएपछि आफ्नो हैसियत बिर्सेर ट्रेड युनियनको आडमा उनले थर्काउने गरेको निजामती कर्मचारी युनियननिकट एक पीडित इन्जिनियर बताउँछन् ।
सरुवादेखि आफ्नै दाजुको नाममा कन्ष्ट्रक्सन कम्पनी खोलेका खड्काले अकूत सम्पत्ति कमाएको आरोप छ । ५ हजार घुस सहित पक्राउ गर्ने अख्तियारले सडक बिभागमा भइरहेका यस्ता अनियमिततामा ध्यान दिन सकेको छैन ।
बिगत २ बर्षदेखि उनले कब्जा गरी दुरुपयोग गरिरहेको बा १ झ ९७६१ नम्बरको फोर्ड पिकअप गाडीको इन्धन मर्मत पुल महाशाखाबाट लिने गरेका छन् । तर पुल महाशाखामा कार्यरत इन्जिनियरले १० लिटर पेट्रोल हाल्नलाई पनि राजनको सिफारिस चाहिने गरेको एक इन्जिनियरको भनाइ छ ।
२०७४ सालमा खड्काले आफ्नो दाजुको नामबाट सेविका कन्सट्रक्सन एण्ड कन्सलटेन्सी फर्म दर्ता गरी आफू डिभिजन सडक कार्यालय साँफेबगर अछाममा कार्यरत हुँदा विस २०७५–०७६ मा सडक मर्मतका २ वटा ठेक्का लिई हालसम्म ५५ प्रतिशत पनि काम नगरी अलपत्र राखेका छन् ।
तर राजन खड्काकै दबाबका कारण उक्त सडकका प्रमुखले हालसम्म पनि न त ठेक्का तोड्न सकेका छन् न त काम नै गराउन सकेका छन् ।
यस्तो बेथितिका कारक राजन खड्कालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्रदेखि सरोकारवाला निकायले छानबिन गर्न सकेका छैनन् । बरु उल्टै सडक बिभागमा उनी सुईभन्दा पनि शक्तिशाली देखिन्छन् ।
सडक बिभागका सबै कर्मचारीलाई आ–आफ्नो जिम्मेवारीको काम गर्नुपर्ने हुन्छ तर उनलाई नियम कानून बिपरीत गाडी सुुविधा, तेल र मर्मत समेत दिएर राखिएको छ । उनीमाथि इन्जिनियर, सीडीई, सुपेरिटेन्डेन्ट इन्जिनियर, महानिर्देशक, सचिव र मन्त्रीबिरुद्ध नै बिभिन्न निकायमा उजुरी गर्दै हिंड्ने गरेको आरोप छ ।