काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाविधेशनको पहिलो दिन आज विभिन्न प्रतिवेदन प्रस्तुत गर्दै सम्पन्न भएको छ ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित आजदेखि ललितपुर, गोदावरीस्थित सनराइज हलमा सुरु भएको महाधिवेशनमा विभिन्न चार वटा प्रतिवेदन प्रस्तुत गरिएको हो ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भोलि बिहान ८ बजे बस्ने गरी आज महाधिवेशनको पहिलो दिनको कार्यक्रम सम्पन्न भएको छ।
उनले आज प्रस्तुतीकरण गर्न समय अभावका कारण नभ्याइएका निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगका प्रतिवेदन भोलि बिहान प्रस्तुत हुने बताए ।
भोलि बिहान तीन वटा प्रस्तुतीकरण सकिएपछि बिहान १० बजेदेखि सबै प्रतिवेदनमाथि समूहगत छलफल हुने बताइएको छ ।
पहिलो दिन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन प्रस्तुत गरेका थिए।
महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कूल दुई हजार ३४१ जनाको सहभागिता रहेको छ।