एजेन्सी । अमेरिकाले गाजामा तत्काल र स्थायी युद्धविरामको माग गरिएको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को एक प्रस्तावमा बिहीबार ‘भिटो’ प्रयोग गरेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायलको पक्षमा उभिने निर्णय फेरि दोहोर्याएको छ । यही समय इजरायलले सम्पूर्ण गाजा सहर कब्जा गर्नका लागि आफ्नो सैन्य आक्रमणलाई तीव्र पारेको छ ।
संयुक्त राष्ट्र सुरक्षा परिषद्का दश निर्वाचित सदस्यहरूले यो मस्यौदा प्रस्ताव पेस गरेका थिए । परिषद्मा रहेका १५ सदस्यमध्ये अमेरिकाबाहेक सबै १४ सदस्यले प्रस्तावको समर्थन गरेको बताइएको छ ।
यो प्रस्तावमा गाजामा तत्काल, बिनासर्त र स्थायी युद्धविराम जसको सबै पक्षले सम्मान गर्नु, हमास र अन्य समूहहरूद्वारा राखिएका सबै बन्धकहरूको रिहाइ र मानवीय सहायतामाथि लगाइएका प्रतिबन्धहरू हटाउन आह्वान गरिएको थियो ।