भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले दसैँलगायतका चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेको छ।
चाडपर्वका बेला चोरी, ठगी, डकैती, लुटपाट, पाकेटमारी, अपहरण, झैझगडा मादक पदार्थ विक्री वितरण, जुवातास लगायतका अपराधहरु बढोत्तरी हुनसक्ने भएकाले क्विक रेस्पोन्स टिम परिचालन गर्न लागिएको हो।
उक्त बडादसैँदेखि दीपावली तथा छठ पर्वसम्मका चाडपर्वलाई लक्षित गरी टिम परिचालन गरिनेछ ।
आम नागरिकहरुमा शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन २४सैं घण्टा प्रहरी गस्ती, एम्बुसिङ, चेक प्वाइन्ट, पिकेट, सरप्राइज जाँचका लागि यस परिसर तथा मातहत प्रहरी इकाइमा उपलब्ध प्रहरी जनशक्ति तथा साधनस्रोतलाई उच्चतम प्रयोग एवं परिचालन गरी भरपर्दो तथा प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज रेग्मीले बताए ।
प्रहरीले आफ्नो घर, टोल, छिमेकमा शंकास्पद गतिविधि भएको पाइएमा वा कुनै घटना भएमा तत्काल प्रहरीको १००, १०३ र जिल्ला प्रहरी परिसर भक्तपुरको सम्पर्क नम्बर ०१–६६१४७०८, ९८५१२८३०२०, ९८५१२९०९७६ मा तत्काल खबर गर्न समेत आग्रह गरेको छ ।
यस्तै प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं, भक्तपुर र ललितपुर उपत्यकाका जिल्लाहरुमा दसैं, तिहार तथा छठ पर्वका बेला सुरक्षाका लागि पाँच हजार चार सय ३७ प्रहरी परिचालन गरिएको जनाएको छ।