जेनजी विद्रोहपछि हामी पनि एकाएक नैतिक हुन थालेछौँ र हामीलाई गौरीबहादुर कार्कीको नैतिकता पनि चाहिएछ । जसले सुधिर बस्नेतको अर्बौँको सम्पत्ति मिडिया टाइकुन माफियाहरुको हातमा जानबाट थोरै भए पनि जोगाउने कोसिस गर्नुभयो ।
पदमा हुँदा उहाँले गर्नुभएको फैसला, आदेश खोजेर हेर्दा उहाँको नैतिकता भेटिएला नै । तर, उहाँले १९ जनाको नरसंहार गर्ने तत्कालीन शासकको विरुद्धमा बोल्नु वा मानव अधिकारको पक्षमा बोल्नुलाई नै नैतिकताको कसीमा राखेर हेर्ने यो भयंकर नैतिक समाजले अख्तियारको रातो घरमा बसेर निर्वाद शासन गरिरहेका ३ करोड रुपैयाँ बुझ्ने (मुख्य अभियुक्तको बयान अनुसार) भुटानी शरणार्थीको अभियुक्तको नैतिकता कहिल्यै देख्यो कि देखेन ।
वाइडबडी काण्डमा त उहाँलाई अनुसन्धान किन गरिएन भनेर प्रश्नसहित विशेष अदालतले फैसला मार्फत सोधेको छ तर, हामीलाई उहाँ जस्तो नैतिक मान्छे कोही लागेन ।
आयल निगमको जग्गामा उहाँलाई जोगाइएको पात्र हो । यस्ता सबै जसो संवैधानिक आयोगहरूमा अनैतिकहरूको नेतृत्व छ । हामीलाई त नैतिकता पनि अरूका मात्रै चाहिन्छ । हाम्रो नैतिकता त हामीले देख्नु हुँदैन ।
तत्कालीन प्रधानमन्त्रीहरूले राजश्व अनुसन्धान विभाग आफ्नो मातहत ल्याएर असुली धन्दा चलाए तर, हामीले नैतिकता सोधेनौँ ।
गुप्तचर विभागमा आफ्ना मान्छे भर्ती गर्न के सम्म गरिएन, त्यो हामीलाई थाहा पनि भएन ।
[insert page='370183' display='yopanipadhnuhos.php']
सम्पत्ति सुद्धिकरण अनुसन्धान विभाग प्रधानमन्त्री मातहत ल्याएर ५०० भन्दा बढी व्यापारीको अकुत सम्पत्ति मुद्दा क्लिन चिट दिलाउने बिचौलियाहरू हाम्रै प्रधानमन्त्रीको बेडरुमसम्म पुग्थे ।
त्यो पनि हामीलाई नैतिक नै लाग्यो । हिजो नेता र ब्युरोक्रेसी मिलेर गरेको सबै कुशासनमाथि हामीले नैतिकता खोजेनौँ । आज जेनजी आन्दोलनको म्यान्डेट अनुसार बनेको सामान्य जाँचबुझ आयोगले हिजो अनैतिक, कुशासन र अनियमितता गर्नेहरूको राहदानी रोक्का गरिदिएपछि गौरी बहादुर कार्कीको नैतिकता चाहिएको छ ।
उनीहरूले भनेजस्तै नैतिक समाज त हिजो पनि थियो । त्यही नैतिक समाजका नायकहरूले नै भदौ २३ मा १९ जनाको नरसंहार गरेको हो । उनीहरूका लागि नैतिक बनिदिनका लागि यो आयोग बनेको जस्तो मलाई लाग्दैन ।
यो आयोग त उनीहरूको नजरमा अनैतिक हुनुपर्छ । यस्ता वक्तव्यहरू अझै आउनुपर्छ । किनकि शासन सत्तामा बसेर सबैभन्दा अनैतिक काम गर्नेहरू कारबाहीको दायरामा नआउँदासम्म यो आयोगको उडान रोकिने छुट छैन ।
(सुदिप बिश्वकर्मा दियोपोस्ट डटकमका प्रधानसम्पादक हुन् ।)