काठमाडौं। २३ र २४ भदौको घटना छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगलाई प्रहरी प्रधान कार्यालयले सबै प्रहरीहरू फिल्डमै रहेको जवाफ पठाएको छ।
विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठन भएको जाँचबुझ आयोगले प्रहरी प्रधान कार्यालयलाई पत्र लेख्दै २३ र २४ भदौमा फिल्डमा खटिएका प्रहरी अधिकारी, इन्चार्जहरूको विवरण पठाउन भनेको थियो।
बेवास्ता गर्दै लामो समयसम्म हेडक्वार्टरले उक्त पत्रको जवाफ पठाएको थिएन।
प्रहरी महानिरीक्षकको सचिवालयले २३ गते विभिन्न स्थानमा खटिएका प्रहरी कर्मचारीको विवरण दिन आनाकानी गरेपछि जाँचबुझ आयोगले प्रहरीका जिम्मेवार उच्च अधिकृतमाथि ‘मानहानी’ मुद्दा नै लगाउने चेतावनी दिएपछि उक्त सचिवालयले उपत्यका प्रहरी कार्यालयलाई कर्मचारीहरूको विवरण आयोगलाई बुझाउन सोमबार पत्राचार गरेको थियो ।
आयोगले बारम्बार ताकेता गरेपछि प्रहरी हेडक्वाटरले सबै जिल्लाहरूमा प्रदर्शन भएकाले कुनै एक प्रहरीलाई दोष देखाउन नमिल्ने भन्दै आयोगलाई जेनजी आन्दोलनका बेला आईजीपीदेखि जवानसम्म सबै फिल्डमै रहेको जवाफ पठाएको थियो ।
त्यसपछि सोमबार आयोगले २४ घण्टाभित्र नामावली बुझाउन अर्को चेतावनीयुक्त पत्राचार गरेको थियो । उक्त पत्र प्राप्त हुनासाथ महानिरीक्षकको सचिवालयले उपत्यका प्रहरी कार्यालयलाई खटिएका कर्मचारीको विवरण आयोगमा पेश गर्न पत्रसाथ आदेश दिएको छ ।
अनि, सोमबार मात्रै प्रहरी हेडक्वाटरले काठमाडौं उपत्यका प्रहरी कार्यालय पत्र लेख्दै घटनाका भएका बेला इन्चार्ज रहेका व्यक्तिहरूलाई उपत्यका नछाड्न निर्देशन दिएको छ ।
अहिले प्रहरी हेडक्वार्टरले अर्को जवाफ आयोगलाई पठाइसकेको उच्च स्रोतले बताएको छ ।