बारा। बाराको जितपुर–सिमरा उपमहानगरपालिका-२२ स्थित चुरियामाईमा बुधबार बिहान बसको ब्रेक फेल भएर दुई मोटरसाइकल किच्दा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
प्रहरीका अनुसार जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना५ख ८५३७ नम्बरको बस बिहान करिब १० बजे हेटौँडा-पथलैया सडकखण्डको उकालोमा पुग्दा अचानक ब्रेक फेल भएर ब्याक हुँदा पछाडिबाट आउँदै गरेका दुई वटा मोटरसाइकल किचेको थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बारा फेटा गाउँपालिका-१ भरवलियाका २५ वर्षीय मकेश्वर पटेल र पर्सा वीरगञ्ज महानगरपालिका-३१ बस्ने २६ वर्षीया कवितादेवीको मृत्यु भएको हो । दुवैलाई अस्पताल पुर्याउँदा दिउँसो १२ः१० बजे चिकित्सकले मृत घोषित गरेका थिए ।
अन्य घाइते हुनेहरूमा मकेश्वर पटेलकी पत्नी २२ वर्षीया कलिता देवी, २० महिनाकी छोरी तानेया पटेल, अर्को मोटरसाइकलका चालक २७ वर्षीय कञ्चन कुमार पटेल र उनका ३ वर्षीय छोरा आयुष पटेल रहेका छन् । मकवानपुरस्थित सहकारी अस्पतालमा उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बस चालक सर्लाही लालबन्दी नगरपालिका–३ का ४७ वर्षीय विश्वनाथ चौधरीलाई इलाका प्रहरी कार्यालय अमलेखगञ्जले नियन्त्रणमा लिएको छ ।