एजेन्सी । भेनेजुएलाकी मारिया कोरीना माचाडोलाई सन् २०२५ को नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय भएको छ।
नर्वेली पुरस्कार समितिले मचाडोलाई आँटिली र शान्तिप्रति प्रतिबद्ध अगुवाू भन्दै उनले प्रजातन्त्रका पक्षमा निर्वाह गरेको भूमिका लागि पुरस्कृत गर्ने निर्णय गरेको हो।
उनी भेनेजुएलामा प्रजातान्त्रिक व्यवस्था स्थापना गर्ने अभियानमा सक्रिय छिन्। उनी गएको वर्षको राष्ट्रपति चुनावमा उम्मेदवारी दिनबाट रोकिएकी थिइन्, जुन चुनावलाई अन्तर्राष्ट्रिय रूपमा न स्वतन्त्र न निष्पक्ष भनेर व्यापक रूपमा खारेज गरिएको थियो ।
नोबेल समितिका अध्यक्षका अनुसार उनले आफ्ना उम्मेदवार एडमुन्डो गोन्जालेज को समर्थनमा सडकमा विशाल भिड जम्मा गर्न सफल भएकी थिइन्। यसले निकोलस माडुरोको सरकारलाई चिन्तित बनाएको थियो । किनकी उनी विपक्षीलाई एकताबद्ध गर्ने नेतृको रूपमा देखा परेकी थिइन् । उनले हजारौं नागरिकलाई सडकमा र मतदान केन्द्रसम्म ल्याउन सफल भएकी थिइन् ।
भेनेजुएलामा निरङ्कुश शासनव्यवस्था छ। भेनेजुएलमा तेस्रो पटक राष्ट्रपति बनेका निकोलस मदुरोविरुद्ध र देशमा प्रजातान्त्रिक व्यवस्था स्थापना गर्न हुँदै आएको अभियानमा मचाडो अग्रमोर्चामा देखिन्छिन्। यद्यपि गत वर्ष अगस्टदेखि भूमिगत छिन्।
गत वर्ष गरिएका सबै मतसर्वेक्षणहरूले उनको अभियानले जित्ने सम्भावना देखाएका थिए।
यो वर्ष शान्ति पुरस्कारका लागि संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको नाम निकै चर्चामा थियो। उनी लामो समयदेखि उक्त पुरस्कारका आकाङ्क्षी भएको बताइन्छ। केही महिनाअघि उनले आफूले विभिन्न युद्धहरू अन्त्य गराएको दाबी पनि गरेका थिए।
मारिया नोबेल शान्ति पुरस्कार पाउने बीसौँ महिला हुन्। सन् १९०१ देखि अहिलेसम्म १०६ पटक यो पुरस्कार घोषणा भएको छ। अहिलेसम्म ११२ व्यक्ति र ३१ वटा संस्था पुरस्कृत भएका छन्।