काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । शनिबार जेनजी प्रतिनिधिहरू राष्ट्रपतिसँग छलफल गर्न भन्दै २२ जना जेनजी अगुवा बिहान शीतलनिवास पुगेका थिए।
तर उनीहरूसँग छलफल गर्दागर्दै राष्ट्रपति पौडेललाई स्वास्थ्यमा समस्या देखिएपछि हाल त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुर्याइएको छ।
अस्पताल स्रोतका अनुसार राष्ट्रपति पौडेललाई एक्कासी टाउको दुख्ने र वान्ता हुने समस्या देखिएपछि अस्पताल पुर्याइएको हो।
अस्पताल स्रोतका अनुसार उनी अस्पताल आइपुगेको करिब दुई घन्टा भएको छ । अहिले उनको प्रारम्भिक स्वास्थ्य परीक्षण भइरहेको छ ।
उनी अस्वस्थ भएपछि छलफल दुई दिन सारिएको छ ।