काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन यङ कम्युनिस्ट लिग (वाइसीएल) का इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले हालको सरकारले आलोचकहरूमाथि प्रतिशोधी व्यवहार गरेको आरोप लगाएका छन् ।
सोमबार बिहान सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले लेखेका छन्, “यो सरकार र गृह पेस्तोल बोकेर नांगै सडकमा हिड्नेलाई भन्दा सामाजिक सञ्जालमा लेख्नेलाई दुश्मन ठान्न थालेको छ ।”
दीपशिखाले सरकारमाथि अरबौं लुट्ने बिचौलिया र चौकी उडाउनमा संलग्न गुण्डा समूहभन्दा पनि राजनीतिक पृष्ठभूमि भएका नेता–कार्यकर्तामाथि अनावश्यक प्रतिशोध लिने आरोप लगाए ।
उनका अनुसार पटक–पटक हिरासत बसेर निर्दोष साबित भएका व्यक्तिहरूमाथि पुनः मुद्दा थोपर्ने कार्यले सरकारले आफ्नो चरित्र देखाएको छ ।
उनले लेखे-'ईगो र बदलाका लागि राज्य प्रयोग हुँदा देशको यो हविगत भएको हो। यो जेनजी सरकार आफैंले घोषणा गरेको निर्वाचन सम्पन्न गर्नभन्दा राजनीतिक दलसँग बदला लिन उद्दत देखिन्छ। यसबाट जन्मिने निरंकुशतन्त्रको अन्त्य पनि दुखद हुनेछ।'
सरकारप्रति असन्तोष व्यक्त गर्दै दीपशिखाले थपे-'हामीले भन्न सक्ने राम-राम हो । प्रिय जेनजी ! तपाईंहरूले खोजेको सरकार र राज्य यस्तै हो ?'