काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेका छन्।
केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार बोल्दै सभापति देउवाले आफूले खड्कालाई कार्यवाहक दिएको बताए।
बैठकमा देउवाले भने–‘मैले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेको छु। जिम्मेवारीअनुसार काम गर्नुहोला ।’
उनले नियमित महाधिवेशन हुने भन्दै १५ औं महाधिवेशन तोकेको अवधिमै हुने बताए।
बैठकमा उनले तत्काल सभापति पद नछाड्ने घोषणा समेत गरे । जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका उनले पार्टी केन्द्रीय समितिमा लिखित सम्बोधन गर्दै १५औं महाधिवेशनबाट विधिवत रुपमा नेतृत्व हस्तान्तरण गर्ने बताएका हुन्।
उनले घरमा सधैँ एक जना मुली नहुने भन्दै १५औं महाधिवेशनबाट आफूबाहेक अन्य व्यक्ति सभापति हुने बताए।
बैठकमा देउवाले भने–‘पार्टीको आन्तरिक जीवन, आगामी १५औं महाधिवेशन र नेतृत्व हस्तान्तरणका सवाहरू उठेका छन्। म साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने घरमा सधैँ एक जना मुली रहँदैन। पार्टीमा पनि महेसा एकै जना सभापति रहिरहँदैन। जहाँसम्म मेरो विषय छ– मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्तरण गर्छु भनिसकेको छु। आगामी १५औं महाधिवेशनबाट मबाहेक अरु कुनै साथी सभापति बन्नु हुनेछ। त्यसमा द्विविधा छैन।’