एजेन्सी । माडागास्करमा केही हप्तादेखि जारी युवा नेतृत्वको विरोध प्रदर्शनले देशमा सत्तापलटको मार्ग खोलेको छ । विरोध प्रदर्शनपछि राष्ट्रपति एन्ड्री राजोइलिना देश छोडेर भाग्न बाध्य भएका छन् ।
यसपछि माडागास्करको सीएपीएसएटी विशेष सैन्य एकाइका वरिष्ठ अधिकारी कर्नेल माइकल रान्ड्रियानीरिनाले आफैँलाई कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन्। उनले एक अन्तर्वार्तामा चाँडै औपचारिक रूपमा शपथ लिने पनि बताएका छन्।
रान्ड्रियानीरिनाले मंगलबार सेनाले देशको बागडोर सम्हालेको घोषणा गरेका थिए । विगत केही हप्तादेखि सरकारविरुद्धका प्रदर्शनहरू तीव्र बनेका थिए, विशेषगरी युवाहरूको नेतृत्वमा ।
शनिबार स्थिति तब बदलियो जब रान्ड्रियानीरिनाको विशेष सैन्य एकाइ सीएपीएसएटीले विद्रोह गरी प्रदर्शनकारीहरूसँग मिलेर राष्ट्रपति राजोइलिनालाई राजीनामा दिन दबाब दियो।
सोमबार रान्ड्रियानीरिनाले देशमा राष्ट्रपति, प्रधानमन्त्री र संसद्को कुनै सक्रियता नभएको भन्दै आफूले जिम्मेवारी लिएको बताएका थिए।