काठमाडौं । ‘इनफ इज इनफ’ अभियानका अभियान्ता इशान अधिकारी (ईः) ले काठमाडौं महानगरका मेयर बालेन शाहमाथि विद्यार्थी र युवालाई उक्साएको आरोप लगाएका छन् ।
उनले जेनजी आन्दोलनका क्रममा बालेनले सडकमा पहिलो पटक आएका विद्यार्थी र युवालाई अगाडि सारेर पछाडिबाट उक्साउने काम गरेको दाबी गरेका हुन् ।
ईः का अनुसार मेयर बालेन आफैं सडकमा नआए पनि उनका प्रतिनिधिहरूले आन्दोलनको कमाण्ड सम्हालेका थिए । उनले आरोप लगाउँदै भने, 'महामेयर सडकमा थिएनन्, तर उनका प्रतिनिधिले आन्दोलनको नेतृत्व गरिरहेका थिए। अवश्य यसमा उनको मात्र दोष छैन, तर मुख्य जिम्मेवारी सरकार र असान्दर्भिक भइसकेका राजनीतिक पात्रकै हो ।'
ईः ले सामाजिक सञ्जालमार्फत बालेनप्रति असन्तुष्टि जनाउँदै लेखेका छन्, 'भदौ २४ गते बिहानैबाट सार्वजनिक र निजी सम्पत्तिको दोहन रोक्न एक मिनेटको भिडियो हाल्न गुहार्दा पनि बालेन मौन बसे। प्रधानमन्त्रीको राजीनामा नआएसम्म ध्वस्त हुने अवस्थासम्म नबोले।'
उनले बालेनलाई ‘हिपोक्रिसीको ऐना’ भन्दै राजनीतिक जिम्मेवारी र नैतिकताको कमी देखिएको आरोप समेत लगाए। “शहीद र घाइते परिवारसँग आर्यघाटमा वा अस्पतालमा आँखा जुधाउने साहस तपाईंमा देखिँदैन,” उनले लेखे।
बालेनको जवाफ, 'म तपाईंलाई प्रधानमन्त्री बनाउन तयार छु ।' ईः का आरोपपछि मेयर बालेनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै आफू इशान अधिकारीलाई प्रधानमन्त्री बनाउन तयार रहेको बताएका थिए ।
'८० वर्ष पुग्दा पनि आफू अध्यक्ष बन्ने देशमा, म ३५ वर्षकै उमेरमा तपाईंहरूलाई भनिरहेको छु — आउनुस्, देश चलाउनुस्। म तपाईंलाई एः बनाउन तयार छु,' बालेनले भनेका छन्,'देश मलाई मात्र छोड्ने हो भने म एक्लै पनि देश बनाइदिन सक्छु, तर यसरी देश बन्दैन।'
ईः को पुनःप्रतिक्रिया, 'सबैजना एकै छातामुनि आउनुपर्छ भन्ने सोच एकतन्त्रीय हो ।' बालेनको प्रस्ताव अस्वीकार गर्दै ईः ले पुनः जवाफ फर्काएका छन् । उनले बालेनको एकताबारेको प्रस्तावलाई ‘एकतन्त्रीय सोच’ भएको बताए।
उनका अनुसार, 'जलाउनुपर्छ, गाड्नुपर्छ भन्ने आवेगात्मक सोच र संवाद–सहअस्तित्वमा आधारित अहिंसक सोच एउटै कित्तामा आउन सक्दैनन्।” उनले थपे, “बालेन र उनको राजनीतिक दल जनजीविका र सैद्धान्तिक सवालमा कहाँ उभिन्छन्, हेर्न बाँकी छ।'
ईः अधिकारी कोभिड महामारीका समयमा ‘इनफ इज इनफ’ आन्दोलनमार्फत चर्चामा आएका सामाजिक अभियान्ता हुन् । उनले २०७७ सालमा २३ दिन लामो अनशन बसेर सरकारसँग १२ बुँदे सहमति गरेका थिए ।