काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकार र राजनीतिक दलहरूलाई खबरदारी गरिदिन प्रबुद्ब वर्गसँग आग्रह गरेका छन् ।
शनिबार राष्ट्रपति भवन शीतलनिवास पुगेका ११ नागरिक अगुवाहरूसँग उनले सरकार र राजनीतिक दलहरूलाई खबरदारी गरिदिन आग्रह गरेका हुन् ।
छलफलमा सहभागीहरूका अनुसार राष्ट्रपतिले दलहरूलाई आगामी २१ फागुनका लागि निर्धारण भएको निर्वाचनमा जानका लागि र सरकारलाई समयमै निर्वाचन गर्न तथा जनता र जेनजी पुस्ताको भवनाअनुसार सरकार सञ्चालन गर्न खबरदारी गरिदिन आग्रह गरेका हुन्।
छलफलमा राजनीतिक विश्लेषक गेजा शर्मा वागलेले भने- 'फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन गरी संविधानलाई ट्रयाकमा ल्याउन तथा जनता र जेनजी पुस्ताको भावनाअनुसार सरकार सञ्चालन गर्न सरकार र राजनीतिक दललाई खबरदारी गरी सकारात्मक वातावरण सिर्जना गर्नु नागरिक समाजको भूमिका भएको राष्ट्रपतिको विचार।'
छलफलमा सहभागीहरू सबैले आ-आफ्नो धारणा राखेका थिए ।
संकटको घडिमा राष्ट्रपतिबाट निर्वाह भएको भूमिकाको सह्राना गर्दै आगामी दिनमा पनि संविधानको दायरामा रहेर थप प्रभावकारी भूमिका निर्वाहका लागि आफूहरूले अपेक्षा गरेको बौद्धिक समुदायका अगुवाहरूको भनाइ थियो ।
राष्ट्रपति पौडेलले छलफलका लागि त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा, राजनीतिशास्त्रीहरू लोकराज बराल, कृष्ण खनालसँगै हरि शर्मा, गेजा शर्मा वाग्ले, इन्द्र अधिकारी, मुमाराम खनाल, केशव दाहाल, तुलानारायण साह, कसमस विश्वकर्मा र उद्धव प्याकुरेल शीतलनिवास पुगेका थिए ।