नवलपरासी । प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्प कावासोतीको आइतबार एक कार्यक्रमबीच उद्घाटन गरेका छन् । साथै उनले उक्त नवनिर्मित पेट्रोल पम्प तथा भवनको निरीक्षण गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गरेका हुन ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा कायम राख्न हरेक क्षेत्र तथा समुदायसँग सहकार्य गर्दै आइरहेको चर्चा गर्दै आज उद्घाटन भएको प्रहरी पेट्रोल पम्पले प्रहरी कर्मचारी तथा स्थानीय नागरिकहरूलाई गुणस्तरीय इन्धन उपलब्ध गराउनुको साथै नागरिक र प्रहरीबीचको समन्वय, सहकार्य र विश्वासमा समेत थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।
प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरी शान्ति सुरक्षा तथा कानुन कार्यान्वयनमा अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने राज्यको विश्वासिलो र भरोसायोग्य संगठनको रूपमा रहेको बताउँदै सो भरोसालाई जीवन्त बनाई राख्न आम जनअपेक्षा अनुरूपको नागरिकमैत्री कार्य गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।