काठमाडौं। जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट फरार भएका व्यक्ति प्रहरीबाट लुटिएको हतियारसहित पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार पक्राउ पर्नेमा महाभारत गाउँपालिका- १ काभ्रे घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका ३ बस्दै आएका २२ वर्षीय वाङ्सु लामा रहेका छन्।
उनलाई गोकर्णेश्वरस्थित बस्दै आएको ठाउँबाट शुक्रबार बेलुका पक्राउ गरिएको ब्युरो प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले बताए। उनको साथबाट प्रहरीले ग्यास गन र तीन थान गोली पनि बरामद गरिएको श्रेष्ठले बताए।
१३ कात्तिकको साँझ काठमाडौं महानगरपालिका ७, लाहुरे टोलको एउटा खाजाघरमा झोला फेला परेको थियो। झोलामा ९७२ डब्ल्युके ६८३०१ ०३२१८९ नं उल्लेख भएको ग्यास गनको बट र नालको भाग छुट्याएको अवस्थामा फेला परेको थियो। उक्त घटना अनुसन्धान गर्दै जाँदा प्रहरी लामाको डेरासम्म पुगेको थियो। कात्तिक १४ गते साँझ उनलाई पक्राउ गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो।
उनको डेराबाट प्रहरीले ३ थान गोलि पनि बरामद भएको सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले बताए।
लामा ज्यान मार्ने उद्योगमा सुन्धारा कारागारमा थिए। ७ साउन २०८२ मा उनी पुर्पक्षका लागि कारागार चलान भएका थिए। वृत्त बौद्धबाट अनुसन्धान भई ज्यान मार्ने उद्योगको मुद्दामा कारागार रहेकामा उनी जेनजी आन्दोलनको दोस्रो दिन २४ भदौमा कारागारबाट फारार भएका थिए।
लामालाई थप अनुसन्धानका लागि सीआईबीले जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको छ।