काठमाडौं । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री कुलमान घिसिङले आफूले पदबाट राजीनामा दिन लागेको भन्ने समाचार असत्य भएको बताएका छन् ।
सोमबार साँझ सामाजिक सञ्जालमार्फत घिसिङले स्पष्ट पार्दै भनेका छन्, 'विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा मैले पदबाट राजीनामा दिंदै गरेको भन्दै प्रसारित समाचारहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । पदबाट राजीनामा दिन लागेको भन्ने समाचारमा सत्यता नरहेको प्रष्ट पार्न चाहान्छु ।'
उनले तीनवटै मन्त्रालयको जिम्मेवारी सम्हाल्दै जनताको विश्वास र जेनजी आन्दोलनले दिएको जनादेश पूरा गर्न आफू निरन्तर क्रियाशील रहेको बताए।
घिसिङले लेखेका छन्, 'जेनजी पुस्ताको ऐतिहासिक आन्दोलनपछि विषम परिस्थितिमा बनेको यो सरकार जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध छ । तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै, म निरन्तर रूपमा आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न क्रियाशील छु ।'
हाल सामाजिक सञ्जाल र केही अनलाइन माध्यमहरूले घिसिङले पदबाट राजीनामा दिन लागेको भन्दै समाचार प्रकाशित गरेका थिए।