काठमाडौं । मन्त्रीमा नियुक्त भएको डेढ महिना हुँदा पनि गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो टिम बनाउन सकेका छैनन्। अपदस्त भएका निवर्तमान गृहमन्त्री रमेश लेखककै टिम लिएर उनले गृह मन्त्रालय चलाइरहेका छन् ।
गृह मन्त्रालयको अधिकांश महाशाखा र शाखा लेखककै निकटस्थ व्यक्तिहरुले चलाइरहेका छन् । सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख आनन्द काफ्ले लेखककै रोजाईमा सो महाशाखामा बसेका कर्मचारी हुन्।
२३ र २४ भदौको आन्दोलनमा उनी नै सो महाशाखामा कार्यरत थिए। जसकारण उनी समेत आन्दोलनमा भएको दमनका दोषी हुन्। उनै काफ्लेले अहिले पनि सो महाशाखाको जिम्मेवारी सम्हालिरहेका छन्।
त्यस्तै, आन्तरिक व्यवस्थापन महाशाखाका ऋषिराम तिवारी, नीति तथा योजनाका सुरेश पन्थी, विपद् व्यवस्थापनका गोविन्द प्रसाद रिजाल, कानुन महाशाखाका भरतमणि रिजाल लेखककै कोर टिमका कर्मचारी हुन्। रिजाल त भिजिट भिसाको असुलीमा समेत मुछिएका सहसचिव हुन्।
कर्मचारी प्रशासन महाशाखामा भने जयनारायण आचार्यलाई हटाएर काली प्रसाद पराजुलीलाई ल्याइएको छ। सचिवमा गोकर्णमणि दुवाडीलाई हटाएर रामेश्वर दंगाललाई लगिएको छ। मन्त्री अर्यालले व्यक्तिगत स्वार्थ नराखेकाले सचिव र सहसचिवहरुकै मन्त्रालयमा हालीमुहाली छ ।
जसकारण हालैको सिडिओ सरुवामा पनि उनीहरुले नै चलखेल गरेर बदनाम सहसचिवलाई महत्वपूर्ण जिल्लामा जिम्मेवारी दिइएको थियो। सो सरुवाप्रति प्रधानमन्त्री सुशीला कार्कीले समेत असन्तुष्टि जनाएको स्रोत बताउँछ ।
मन्त्रालयका महत्वपूर्ण शाखाहरुमा पनि लेखककै विश्वासपात्रहरुको हालीमुहाली छ । प्रहरी कर्मचारी प्रशासनमा गणेश गैरे, शान्ति सुरक्षा शाखामा रविन्द्र आचार्य, कर्मचारी प्रशासनमा मीना अर्याल, कार्यालय व्यवस्थापनमा सन्तोष पौडेल लगायत पुरानै कर्मचारीहरु छन् ।
पौडेलले मन्त्रालयको फर्निचर खरिदमा ठूलो अनियमितता गरेको आरोप लागेको छ । जनताको विद्रोहपछि सरकार बनेपछि विगतमा बदनाम नेतानिकट कर्मचारी नै प्रमुख ठाउँमा हुँदा सुशासनको संकेत देखिएको छैन ।