काठमाडौं । नेकपा एमाले निकट युवा संघ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विरुद्ध साइबर ब्युरोमा जाहेरी दर्ता गरेको छ।
संघले मेयर साहलाई तत्काल पक्राउ गरी उनको राहदानी रोक्का गर्न माग गरेको हो।
संघका केन्द्रीय उपाध्यक्ष महाराज गुरुङद्वारा दर्ता गरिएको जाहेरीमा मेयर साहले सामाजिक सञ्जालमार्फत प्रमुख राजनीतिक दल र मित्रराष्ट्रहरूविरुद्ध अशोभनीय र आपत्तिजनक भाषा प्रयोग गरेको उल्लेख गरिएको छ।
संघले यस्तो अभिव्यक्तिले न केवल देशको आन्तरिक राजनीतिमा तर नेपालका अन्तर्राष्ट्रिय सम्बन्धमा समेत प्रतिकूल प्रभाव पार्ने आरोप लगाएको छ।
गत शनिबार मध्यराति मेयर साहले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत अमेरिका, भारत, चीनसहित प्रमुख राजनीतिक दलहरूलाई लक्षित गर्दै तीव्र र आपत्तिजनक स्टाटस लेखेका थिए।
आलोचना सुरु भएलगत्तै उनले उक्त पोस्ट मेटाएका थिए, तर त्यसको स्क्रिनशट सामाजिक सञ्जालभर भाइरल बनेको थियो।
युवा संघका नेताहरूले काठमाडौं महानगरका मेयरजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिबाट अश्लील र असंयमित अभिव्यक्ति आउनु अत्यन्त निन्दनीय भएको बताएका छन्।
'विदेशी मित्रराष्ट्रहरूविरुद्ध गालीगलौज गर्नुले नेपालका कूटनीतिक सम्बन्धमा आँच पुर्याउने खतरा भएको छ,' संघका उपाध्यक्ष गुरुङले जाहेरीमा उल्लेख गरेका छन्।
जाहेरीमा मेयर साहले प्रमाण नष्ट गर्न सक्ने र विदेश पलायन हुने सम्भावना रहेको दाबी गर्दै तत्काल नियन्त्रणमा लिई विस्तृत अनुसन्धान गर्न माग गरिएको छ।
'निज विदेश भागी जाने र प्रमाण नष्ट गर्ने हुनाले तत्काल पक्राउ गरी राहदानी रोक्का राखी पाउँ,' जाहेरीमा भनिएको छ।