काठमाडौं । नेपाल स्काउट शुद्धीकरण अभियान समितिले नेपाल स्काउटको निर्देशक नियुक्ति प्रक्रिया रोक्न माग गर्दै कार्यालय परिसरमा धर्ना दिएको छ ।
शनिबार समितिले कार्यालय परिसरमा धर्ना दिएको हो ।
स्काउटको निर्देशक नियुक्तिको लागि शनिवार सर्टलिस्टमा परेकाहरूलाई अन्तर्वार्ताको लागि बोलाइएको थियो । कार्यालयभित्र अन्तर्वार्ता चलिरहँदा बाहिर समितिले धर्ना दिएको हो ।
धर्नामा प्रहरीसँग धकलाधकेल समेत भएको थियो । नेपाल स्काउट शुद्धीकरण समितिको संयोजक देवदुत अधिकारीले बहालवाला निर्देशक हुँदाहुँदै नयाँ निर्देशकको लागि भ्याकेन्सी आह्वान नै गलत भएको बताए। उनले प्रमुख आयुक्तको विषयमा समेत अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा निर्देशक नियुक्त गर्न नमिल्ने बताए।
निर्वाचित भएको प्रमुख आयुक्तलाई निःवर्तमान युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले निलम्बन गरेर चौधरीको नाईटेङ्गल स्कुलमा स्काउट पढाउने शिक्षक देवराज घिमिरेलाई टिका लगाएर आयुक्त बनाएको उनको आरोप छ । उनले स्काउटभित्र भएका विकृति, विसंगति र भ्रष्टाचारलाई अन्त्य गर्नको छानबिन समितिले बनाएको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताए।
प्रतिवेदनको आधारमा दोषीलाई कारबाही गर्नुपर्ने उनको माग छ ।
स्काउटका निःवर्तमान प्रमुख आयुक्त महेन्द्रराज रञ्जितले नेपाल स्काउटको सर्वोच्च निकाय राष्ट्रिय परिषद्को बैठकले आफूलाई प्रमुख आयुक्त पदमा निर्वाचन गरे पनि तत्कालीन मन्त्री तेजुलाल चौधरीले एक वर्ष नपुग्दै हटाएका बताए। कानुनी प्रक्रिया नपुर्याई आफूलाई हटाएर देवराज घिमिरेलाई प्रमुख आयुक्त बनाएपछि आफूले सर्वोच्चमा मुद्दा हालेको उनले जानकारी दिए।
हाल अदालतमा उक्त मुद्दा चलिरहेको अवस्थामा निर्देशक भ्याकेन्सी निकालेर नयाँ नियुक्त गर्न नमिल्ने उनको जिकिर छ । विषम परिस्थितिमा पनि हतार हतार गरेर नियुक्त गर्न खोजिएको उनले दाबी गरे।