काठमाडौं । नेपाल स्काउटले राजधानीको लैनचौरस्थित आफ्नै जग्गा कब्जामा राखिरहेको कांग्रेस नेता दीपक खड्काको कम्पनी ‘खड्का ल्यान्ड डेभलपमेन्ट प्रालि’ लाई बक्यौता रकम तिरी ७ दिनभित्र जग्गा खाली गर्न अन्तिम चेतावनी दिएको छ ।
स्काउटले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै लामो समयदेखि कानुनी प्रक्रिया पूरा हुँदाहुँदै पनि कम्पनीले अटेर गरेको जनाउँदै अन्तिम पटक ७ दिने अल्टिमेटम दिएको हो ।
सार्वजनिक सूचनामा भनिएको छ, “बक्यौता रकम तिर्न अन्तिम मौका प्रदान गरिएको छ। तोकिएको समयभित्र रकम नतिरे तथा जग्गा खाली नगरे सम्झौताका प्रावधान र मुलुकी देवानी संहिता, २०७४ बमोजिम जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामान जफत गरिनेछ।”
लैनचौर (काठमाडौँ महानगरपालिका वडा नं. २६, साबिक २९) मा रहेको कित्ता नं. १० को झन्डै ३ रोपनी जग्गा २०६५ सालमा नेपाल स्काउट र खड्का ल्यान्ड डेभलपमेन्टबीच १० वर्षका लागि भाडामा सम्झौता भएको थियो। सम्झौताअनुसार २०७५ सालमा अवधि समाप्त भए पनि कम्पनीले जग्गा खाली नगरेपछि विवाद अदालतसम्म पुगेको थियो ।
काठमाडौँ जिल्ला अदालतले २०७६ असार १८ गते र उच्च अदालत पाटनले २०७९ असार १३ गते स्काउटको पक्षमा फैसला गरिसकेको छ। तर अदालतको फैसला कार्यान्वयन नभएपछि स्काउटले २०७९ चैत २८ गते ३५ दिने सूचना पनि जारी गरेको थियो।
त्यसपछि २०८१ वैशाख ६ गते स्थानीय प्रशासनको सहयोगमा जग्गा सिलबन्दी गरिएको थियो। तर कम्पनीले अझै पनि भोगचलन गर्दै आएको स्काउटको आरोप छ।
नेपाल स्काउटका अनुसार कम्पनीले सम्झौताअनुसारको बक्यौता रकम समेत तिरेको छैन। सूचनामा भनिएको छ, 'बक्यौता रकम तिर्न अन्तिम मौका प्रदान गरिएको छ। उक्त समयभित्र बक्यौता नतिरे सम्झौताको बुँदा ४ र मुलुकी देवानी संहिता, २०७४ अनुसार जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरू जफत गरिनेछ। जफत गरिएको सम्पत्तिबाट पनि बक्यौता असुल नभएमा कम्पनीको अन्य जायजेथाबाट असुलउपर गरिने व्यहोरा छ ।'