काठमाडौं । बुद्ध एयरका सञ्चालक बिरेन्द्रबहादुर बस्नेत नेतृत्वको 'गतिशील लोकतान्त्रिक पार्टी' निर्वाचन आयोगमा दर्ता भएको छ ।
आयोगका सचिव महादेव पन्थले सोमबार दल दर्ताको प्रमाण पत्र अध्यक्ष डा. दिनेश प्रसार्ईंलाई प्रदान गरेका हुन् ।
सो पार्टीको दल दर्ताको प्रमाणपत्र लिन व्यवसायी बस्नेतसहितको नेताहरु पुगेका थिए ।
पार्टीले नयाँ पुस्ता र भावी पुस्ताको लागि समावेशी र समतामूलक राजनीतिक संस्कार विकास गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।
पार्टीको तयारीअनुसार संरचनामा एक अध्यक्ष र पाँच जना महासचिव रहनेछन् । बाँकी सदस्यहरू विभिन्न पेशागत समूहबाट चयन गरिने छन् । उक्त दलको अध्यक्ष प्रसाईं छन् । महासचिवमा पियुषप्रसाद कायस्थ छन् ।
करिब पाँच-छ महिनादेखि नयाँ दल गठनबारे गृहकार्य गर्दै आएका बस्नेतले असोज ३० गत मात्रै आयोगमा दल दर्ताको निवेदन दिएका थिए ।
२१ फागुनमा आगामी निर्वाचन घोषणा भएपछि उनको राजनीतिक पहलले तीव्रता पाएको हो ।
यस्तै दल दर्ताको प्रमाण पत्र लिए पश्चात सञ्चारकर्मीहरुसँग बोल्दै बस्नेतले आफ्नो पार्टीले फागुन २१ गते हुने निर्वाचनमा देशभरबाट २० प्रतिशत मत नल्याए सरकारमा नजाने घोषणा गरेका छन् ।