काठमाडौं । नेकपा एकीकृत समाजवादी परित्याग गरेर पुन एमालेमै प्रवेश गरेका किसान श्रेष्ठले पार्टी फुटाएर ठूलो भूल भएको बताएका छन्।
राष्ट्रिय सभा गृहमा घर फर्क अभियानमा बोल्दै श्रेष्ठले यस्तो बताएका हुन् ।
पार्टी छाडेपछि एमाले केबल एउटा संगठनमात्र नभई आदर्श, दृष्टि र राष्ट्र निर्माणको मूल प्रवाह भएको बुझेको श्रेष्ठले बताए ।
मुलुकको विकास र समृद्धिको एकमात्र आधार एमाले नै रहेको भन्दै उनले भने- 'आज हामी केवल पार्टीमा फर्किएका हैनौँ, हामीले हाम्रो आदर्श, मार्ग र प्रतिबद्धता फर्काएका छौँ। अब आगामी राजनीतिमा, हामी सबै मिलेर एमालेलाई अझ सबल, आधुनिक र जनमुखी बनाउन तयार छौँ। देशलाई आर्थिक समृद्धि र स्थायित्वको बाटोमा अघि बढाउने यात्रामा हामी सबै केपी शर्मा ओलीज्यूको नेतृत्वमा पुनः एकताबद्ध हुँदैछौँ। आज म र हामी समस्त फर्किएका साथीहरु यहाँ अत्यन्त भावुक मन लिएर उभिएका छौँ। एमाले छाडेपछि हामीले महसुस गर्यौँ( यो पार्टी केवल संगठन होइन, यो त विचारको घर हो, राष्ट्र प्रेमको दिशा हो, देशको भविष्यको बाटो हो।'
गुटविहीन पार्टी र पार्टीको नीति र नेतृत्वप्रतिको प्रतिवद्धतासहित आफूहरू फर्किएको र कुनै माग, शर्त र चाहना नभएको प्रष्टीकरण दिएका छन् ।