काठमाडौं । पूर्व अर्थमन्त्री डा.प्रकाशचन्द्र लोहनीले राजनीति कमजोर हुँदा अर्थतन्त्र सबल हुन नसक्ने बताएका छन् ।
अर्थतन्त्रको अवस्थाबारे आयोजित छलफलमा लोहनीले सरकारसँग पैसा छैन भन्ने तर भएको पैसा पनि उपयोग हुन नसक्ने स्थिति राम्रो नभएको बताएका हुन् ।
उनले निजी क्षेत्रको मनोबल उकास्न बैंकको ब्याजदर घटाउँदै लगे पनि लगानी आकर्षित नहुनु चिन्ताको विषय भएको बताए ।
उनले भने- 'नेपाल सरकारसँग पैसा छैन भन्ने गरिन्छ। तर भएका पैसा पनि खर्च हुँदैन । कटौती गर्नु आवश्यक कुरा हो, तर जति छ त्यो पनि उपयोग हुँदैन । प्राइभेट क्षेत्रलाई प्रोत्साहित गर्न सबैभन्दा ठुलो कुरा इन्ट्रेस्ट घटाउनु हो । संसारमा अलिकति इन्ट्रेस्ट घटबढले कति निजी लगानीमा असर गर्छ । हाम्रो इकोनोमिक मोडल रेमिट्यान्समै भएपनि हामीले त्यसलाई प्रयोग गर्न सकेनौँ। एक्सपोर्टमा लगाएनौँ। अहिलेको यो स्थितिमा आइपुग्यौँ। नेपाल सरकारको पैसालाई कसरी उपयोग गर्ने भन्ने चुनौती छ। कस्तो लिक्विडिटी ट्रयापमा परेको छ भन्ने राजनीतिले निर्धारण गर्छ। राजनीतिक तह कमजोर हुँदा अर्थतन्त्रले मात्र काम गर्दैन ।'
पूर्व मन्त्री लोहनीले नेपालको अर्थतन्त्र रेमिट्यान्समा आधारित भएपनि त्यसको पूर्ण उपयोग नभएको बताए ।
हालको परिस्थितिमा राजनीतिक कमजोरी नै संकटको घडी भएको लोहनीको भनाई थियो ।