काठमाडौं । मेडिकल व्यवसाही दुर्गा प्रसाईँलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिने तयारी भएको छ।
सोमबार मध्यराति भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका प्रसाईँविरुद्ध मुद्दा दर्ताको प्रक्रिया अघि बढेसँगै काठमाडौं प्रहरी परिसरले आवश्यक डकुमेन्टेशन सुरु गरेको हो।
परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार प्रसाईँले सार्वजनिक शान्ति भंग हुने प्रकृतिका अभिव्यक्ति दिएको ठहर गरिएको छ। यही आधारमा म्याद थपको प्रक्रिया अघि बढाइने तयारी छ।
प्रसाईंले यही मंसिर ७ गते देशभर आन्दोलन गर्ने बताउँदै आएका थिए । तर त्यस अगावै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले प्रसाईंलाई सोमबार राति नै पक्राउ गरेको हो ।
गत चैत १५ मा तीनकुनेमा प्रसाईंको नेतृत्वमा भएको राजावादी आन्दोलनमा पनि दई जनाको ज्यान गएको थियो ।
उनको गिरफ्तारीपछि समर्थक तथा नागरिक बचाउ दलका कार्यकर्ताले प्रदर्शन गर्ने सम्भावना रहेकाले उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।